काठमाडौं । नेपाली समाजमा साउन १५ गतेलाई ‘खीर खाने दिन’का रूपमा विशेष रूपमा मनाउने परम्परा छ । वर्षा ऋतुको मध्यम समयमा पर्ने यो दिन देशभर खीर पकाएर इष्टमित्र, छोरीचेली र आफन्तजनलाई खुवाउने चलन कायमै छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो दिनलाई दही–च्यूरा, पोलेको मकै, मालपुवा जस्तै मौसमी र परम्परागत परिकारसँग तुलना गरिन्छ । संस्कृतमा पायस भनिने खीरलाई सात्विक आहार मानिएको छ, जसलाई देवकार्य र पितृकार्य दुवैमा विशिष्ट स्थान दिइएको छ ।
धर्मशास्त्रविद् पण्डित युवराज शर्मा का अनुसार, "साउन महिनामा गाईभैंसीले धेरै दूध दिने हुँदा दूधजन्य परिकार तयार पार्ने चलन बसेको हो । खीर स्वादिलो मात्र होइन, स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिन्छ ।"
गाउँघरमा खेतीपातीको काम सकिएपछि र हरियाली छाउने बेलामा छोरीचेली, इष्टमित्रहरूलाई बोलाई घरैमा खीर खुवाउने परम्परा अझै जीवित छ । विशेषगरी साउन महिनालाई शिवको महिना मानिने भएकाले शिवलाई मनपर्ने दूधजन्य परिकार खीर यस दिन विशेष रूपमा पकाइन्छ ।
खीर चामल, गाजर, मकै, सावधाना, सेवई जस्ता सामग्री हालेर विभिन्न प्रकारले बनाइन्छ । विशेषगरी साउनमा हरियो मकै उपलब्ध हुने भएकाले मकैको खीर पनि लोकप्रिय मानिन्छ । नेपाली बृहत् शब्दकोशले पनि खीरलाई “दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरेको छ ।
असार १५ मा दही च्यूरा, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ खट्टे, माघ १५ मा मालपुवा — यस्ता मौसमी परिकार नेपाली संस्कृतिका विशेष पाटा हुन् । खीर खाने चलन पनि यसै सन्दर्भमा सामूहिकता, परम्परा र स्वादको समिश्रणको प्रतीक हो ।
यस दिनलाई अझ व्यापक बनाउन राष्ट्रिय दुग्ध विकास बोर्डले ‘खीर दिवस’का रूपमा समेत प्रचार गर्दै आएको छ ।
View : 96
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved