Biratnagar, Morang, Nepal
स्वास्थ

उच्च रक्तचाप: मौन तर घातक शत्रु

डाक्टर पार्थ गुरागाईं
१९ पुष २०८२, शनिवार

Advertisement

उच्च रक्तचाप वा Hypertension आजको युगमा सर्वाधिक देखिने स्वास्थ्य समस्या मध्ये एक हो। हाम्रो शरीरको हरेक अंगलाई रगत ले पोषण र अक्सिजन पुर्‍याउने काम गर्छ। तर जब यो रगत ले शरीरका नसा र धमनीहरूमा अत्यधिक दबाब सिर्जना गर्छ, त्यसैलाई उच्च रक्तचाप भनिन्छ। सुरुवाती अवस्थामा यसले कुनै लक्षण नदेखाउने भएकाले धेरै मानिसहरूलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नै हुँदैन यही कारणले यसलाई मौन घातक” (Silent Killer) भनिन्छ।

 

उच्च रक्तचापको असर हाम्रो शरीरमा

उच्च रक्तचापले शरीरका हरेक महत्त्वपूर्ण अंगमा क्रमशः क्षति पुर्‍याउन थाल्छ। यदि यसलाई समयमै नियन्त्रण गरिएन भने, दीर्घकालीन असर निम्नानुसार देखिन सक्छः

  1. मस्तिष्कमा असर (Stroke):
    रक्तचाप बढ्दा मस्तिष्कका साना रक्तनलीहरू फुट्ने वा बन्द हुने सम्भावना रहन्छ, जसले स्ट्रोक (Brain Attack) निम्त्याउँछ।
  2. हृदयमा असर (Heart Disease):
    हृदयले उच्च दबाबमा रगत पम्प गर्नुपर्दा मांसपेशी बाक्लो बन्छ, जसले Heart Failure, Angina वा Heart Attackको जोखिम बढाउँछ।
  3. मृगौलामा असर (Kidney Damage):
    निरन्तर उच्च रक्तचापले मृगौलाका नलीहरूमा क्षति पुर्‍याउँछ, जसले Chronic Kidney Disease ल्याउन सक्छ।
  4. आँखामा असर (Retinopathy):
    आँखाका साना रक्तनलीहरूमा क्षति पुग्दा दृष्टि धमिलो हुन सक्छ वा अन्धोपनसमेत आउन सक्छ।
  5. रक्तनलीहरूमा असर (Atherosclerosis):
    उच्च रक्तचापले धमनीहरू कडा र साँघुरा बनाउँछ, जसले शरीरभरि रक्तसञ्चारमा समस्या ल्याउँछ।

 

किन भनिन्छ साइलेंट किलर’?

उच्च रक्तचापको सबैभन्दा खतरनाक पक्ष भनेको यसको मौन प्रकृति हो। धेरैजसो अवस्थामा कुनै लक्षण नदेखिँदा मानिसलाई आफ्नो समस्या थाहा हुँदैन। जबसम्म टाउको दुख्ने, नाकबाट रगत आउनु, छातीमा दुखाइ वा दृष्टि धमिलो हुने जस्ता गम्भीर लक्षण देखिँदैनन्, तबसम्म रोग निकै अगाडि पुगेको हुन्छ।

अर्थात्, शरीरभित्र क्षति भइरहन्छ तर मानिसलाई थाहा हुँदैन । यसैले यसलाई साइलेंट किलरभनिएको हो।

 

स्क्रिनिङ किन जरुरी छ?

हामीमध्ये धेरैले आफ्नो रक्तचाप कहिल्यै नापेका हुँदैनौँ। तर नियमित स्क्रिनिङ (रक्तचाप जाँच) नै यसको रोकथामको सबैभन्दा सरल र प्रभावकारी उपाय हो।
स्क्रिनिङको महत्व यसरी देखिन्छः

  1. पहिचानको माध्यम:
    लक्षण नदेखिँदा स्क्रिनिङबाट मात्र रोग पत्ता लाग्छ।
  2. शुरुवातमै नियन्त्रण सम्भव:
    प्रारम्भिक चरणमै पत्ता लागेमा खानपान, व्यायाम, तनाव नियन्त्रण र औषधिले रक्तचाप सजिलै नियन्त्रण गर्न सकिन्छ।
  3. गम्भीर जटिलता रोकथाम:
    समयमै पत्ता लाग्दा हृदयाघात, स्ट्रोक, मृगौला असफलता जस्ता जटिलता रोक्न सकिन्छ।
  4. समुदायस्तरमा नियन्त्रण:
    यदि समुदायमै स्क्रिनिङ कार्यक्रम नियमित गरियो भने धेरै मानिसहरूलाई दीर्घकालीन रोगबाट जोगाउन सकिन्छ।

 

उच्च रक्तचापको प्रमुख कारणहरू

  • अत्यधिक नुनयुक्त आहार
  • तारेका वा बोसोयुक्त खानेकुरा
  • शारीरिक निष्क्रियता
  • अत्यधिक रक्सी सेवन
  • धूम्रपान
  • तनाव र निद्राको अभाव
  • उमेर, वंशाणुगत कारण र मोटोपन

यी सबै कारणले रक्तचापलाई दीर्घकालीन रूपमा बढाउँछन्।

 

रोकथामका उपायहरू

  1. सन्तुलित आहार: फलफूल, हरियो सागसब्जी, आलस, ओखर, दाल र फाइबरयुक्त खाना बढी खाने।
  2. नुनको मात्रा घटाउने: दिनमा ५ ग्रामभन्दा कम  प्रयोग गर्ने।
  3. नियमित व्यायाम: हरेक दिन कम्तीमा ३० मिनेट हिँड्ने वा हल्का एरोबिक व्यायाम गर्ने।
  4. तनाव नियन्त्रण: ध्यान, योग, संगीत, र पर्याप्त निद्राबाट तनाव घटाउने।
  5. धूम्रपान र रक्सी त्याग्ने।
  6. नियमित स्वास्थ्य परीक्षण: हरेक ६ महिनामा रक्तचाप नाप्ने बानी बसाल्ने।

 

निष्कर्ष

उच्च रक्तचाप कुनै क्षणिक समस्या होइन, यो दीर्घकालीन मौन रोग हो जसले बिस्तारै शरीरलाई क्षति पुर्‍याउँछ। तर यसको समाधान पनि सजिलो छ । सचेतता, नियमित स्क्रिनिङ र स्वस्थ जीवनशैली।
यदि हामीले समयमै आफ्नो रक्तचाप नाप्ने, खानपानमा सुधार गर्ने र तनाव घटाउने बानी अपनायौँ भने, यो साइलेंट किलरलाई पनि परास्त गर्न सकिन्छ।

View : 63

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved