Biratnagar, Morang, Nepal
पर्यटन

अपाङ्गतामैत्री पर्यटन आजको आवश्यकता

साहसको सगरमाथा: अपाङ्गतामैत्री पर्यटनको दिशामा ऐतिहासिक पाइला अन्नपूर्ण आधार शिविरमा!

"हामीले देखायौँ – इच्छाशक्ति अगाडि अपाङ्गता सानो कुरा हो।” – अन्नपूर्ण अपाङ्ग सञ्जाल टोली
-
आकृती रानी फुयल
११ कार्तिक २०८२, मङ्गलवार

Advertisement


‘अपाङ्गता मैत्री पर्यटन’ र ‘अपाङ्गता मैत्री पदयात्रा’ को अभियानलाई देशभर फैलाउने र नेपालको पर्यटन प्रवर्द्धन गर्ने उदात्त उद्देश्यका साथ अपाङ्गता भएका साहसी पदयात्रीहरूको एक टोलीले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर (ABC) मा सफलतापूर्वक पाइला टेकेको छ।

नेपालको सुन्दरताको प्रतीक अन्नपूर्णको यो चुनौतीपूर्ण यात्रामा इतिहास बनेको छ। अपाङ्गता भएका व्यक्तिहरूले पूरा गरेको यो कठिन यात्रा केवल पदमार्गको जित होइन, यो समाजको सोच र सीमितताको परिभाषा परिवर्तन गर्ने साहसको सगरमाथा हो। उनीहरूको हिम्मत, दृष्टि र लगनशीलताले आगामी पुस्ताका लागि नयाँ बाटो खोल्नेछ भन्ने हाम्रो पुस्ताले विश्वास गर्न सक्नुपर्दछ।

अभियानको मुख्य उद्देश्य र चुनौती:

अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको पहलमा आयोजना गरिएको यस ऐतिहासिक पदयात्रामा ६ प्रकारका अपाङ्गता भएका ९ जना सहभागी थिए। कात्तिक ५ गते नारच्याङको हुमखोलाबाट सुरु भएको यो यात्रा कात्तिक ८ गते ४,०५० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगेर सम्पन्न भएको सञ्जालका अध्यक्ष विशाल विकले जानकारी दिनुभयो।
सवारीसाधनमार्फत नारच्याङदेखि हुमखोला पुगेर टोलीले करिब २२ किलोमिटर लामो पदमार्ग पैदल पार गर्दै करिब १८ घण्टाको यात्रापछि पञ्चकुण्ड ताल हुँदै आधार शिविर पुगेको थियो।

सञ्जालका अध्यक्ष विकका अनुसार पदयात्राको मुख्य उद्देश्य थियो “अपाङ्गतामैत्री नीति र पर्यटन क्षेत्रमा समावेशी भौतिक संरचना आवश्यक छ भन्ने सन्देश प्रवाह गर्नु।” उनी भन्छन्  “हामीले देखायौँ— इच्छा र तयारी भए अपाङ्गता भएका ब्यक्ति  कुनै बाधा होइन। तर, यो यात्राले भौतिक पहुँचको गम्भीर समस्या पनि उजागर गर्‍यो।”

चुनौतीहरू जसले नीतिगत आवश्यकता दर्साए:

सहभागीहरूले यात्राको क्रममा भोगेका चुनौतीहरू साझा थिए— पदमार्गमा सहज पहुँच नहुनु, होटल तथा शौचालयहरू अपाङ्गतामैत्री नहुनु, र सवारी साधनमा सहजता नपाइनु। यी सबै अनुभवले के देखाउँछ भने २०६९ सालमा जारी गरिएको “भौतिक पहुँच तथा सञ्चार सेवा निर्देशिका” अझै पनि व्यवहारमा प्रभावकारी रूपमा लागू हुन सकेको छैन। अब राज्यले बुझ्नुपर्छ कि अपाङ्गता मैत्री पर्यटनको प्रवर्द्धनबाट मात्र नेपालको पर्यटन उद्योगको दिगो विकास सम्भव छ।

सहभागीहरूको विविधता र वातावरणीय सन्देश:

पदयात्रामा सहभागी प्रतिनिधिहरूमा शारीरिक अपाङ्गता भएका झापाकी चोमु शेर्पा खुसी, गण्डकी प्रदेशका ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पाल्सी अपाङ्गता भएकी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता भएका विशाल विक, दृष्टिविहीन अपाङ्गता भएका भीम गुरुङ, सुनाइ सम्बन्धी अपाङ्गता भएका वासु थकाली र सहयोगी बन्दना राई हुनुहुन्थ्यो।

यात्राका क्रममा टोलीले उदाहरणीय कार्य समेत गरेको थियो। उनीहरूले आफ्नै फोहोर आफैँ सङ्कलन र व्यवस्थापन गरेर वातावरणीय सन्देश दिएका थिए। सुनाइ सम्बन्धि  अपाङ्गता भएका वासु थकालीले साँकेतिक भाषामा सबै पदयात्रीलाई अनुरोध गरे— “हिमाल सफा राखौँ। जति फोहोर लगिन्छ, त्यति नै झोलामा फर्काऔँ।”

आह्वान: अब नीति होइन, कार्यान्वयनको रूपान्तरण!

अन्नपूर्ण पदयात्रा केवल साहसको कथा होइन— यो अवसरको आह्वान पनि हो। नेपाल पर्यटन वर्षका हरेक योजनामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्न अब नीति मात्र होइन, कार्यान्वयन र पूर्वाधारको रूपान्तरण आवश्यक छ। किनकि उनीहरू पनि सपना देख्छन्, तर अहिले पनि धेरै पदमार्ग उनीहरूका लागि बन्द छन्— न त बाटो सहज छ, न त शौचालय, न त होटल। अब समय आएको छ, सपना समान, पहुँच समान बनाउने।

बधाई र सलाम!
पदयात्रामा सहभागी सम्पूर्ण साहसी साथीहरूमा हार्दिक बधाई! तपाईंहरूको साहस, दृढ संकल्प र प्रेरणादायी कदमलाई हृदयदेखि सलाम। अन्नपूर्णको चिसो हावा, हिमालको उच्चाइ र बाटोको कठिनाइबीच पनि उनीहरूले मुस्कुराउँदै दिएको सन्देश हो— “साहस शरीरमा होइन, सोचमा हुन्छ।”

यो यात्रा सम्पूर्ण नेपालका लागि प्रेरणा हो— जहाँ अपाङ्गता कुनै अवरोध होइन, बरु सम्भावनाको नयाँ दिशातर्फ उठेको साहसिक पाइला हो। सरकार र पर्यटन व्यवसायका सरोकारवालाहरूलाई यस दिशामा ठोस कार्यनीति र पहल कदमी अघि बढाउन हार्दिक आग्रह पनि।

View : 214

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved