स्वस्थ विराटनगर
विकासोन्मुख देशहरूमा शहरीकरण तीव्र गतिमा अघि बढिरहेको छ। नेपाल पनि यो परिवर्तनबाट अछुतो छैन। कृषि प्रधान देशबाट सेवा, व्यापार, र निर्माणमुखी शहरहरूमा रूपान्तरण भइरहेका छन्। यस्तै सन्दर्भमा विराटनगर पनि एक प्रमुख उदाहरण बनेको छ। देशका विभिन्न भागबाट मानिसहरू रोजगारी, शिक्षा, स्वास्थ्य र व्यवसायको खोजीमा यहाँ आउँछन्।
म स्वयंले विगत केही दशकदेखि विराटनगरको विकास, विस्तार र जनसंख्याको वृद्धि नजिकबाट देख्दै आएको छु। घर, सडक, बजार त बनेका छन् तर स्वास्थ्यको दृष्टिले अत्यावश्यक संरचना—जस्तै हरियालीयुक्त पार्क र व्यायामस्थल—अझै थुप्रै क्षेत्रमा अभावमै छन्।
बिहानको चहलपहल र हरित क्षेत्रको अभाव विराटनगरमा बिहान-बिहानै मानिसहरू हिड्दै, दौडिँदै, केही हल्का व्यायाम गर्दै देखिन्छन्। स्वस्थ जीवनशैलीप्रति जनचेतना बढ्दो छ भन्ने यो सकारात्मक संकेत हो। तर दुखको कुरा के छ भने—यस्तो बिहानको चहलपहल प्रायः धुलाम्य सडकहरूमा देखिन्छ, जहाँ गाडीको धुवाँ र ट्राफिक दुर्घटनाको जोखिम उच्च हुन्छ। यस्ता अवस्थाले स्वास्थ्य सुधार गर्नुको सट्टा उल्टै जोखिम निम्त्याउँछ।
यदि विराटनगरका विभिन्न भागहरूमा सबैले सहज रूपमा पुग्न सक्ने ठूला, हरित पार्कहरू निर्माण गरिए भने, जनस्वास्थ्यमा अभूतपूर्व सुधार ल्याउन सकिन्छ। त्यस्ता पार्कहरूमा मानिसहरूले स्वच्छ हावामा निःशुल्क व्यायाम गर्न सक्छन्, ध्यान गर्न सक्छन्, आपसी सामाजिक सम्बन्ध मजबुत बनाउन सक्छन् र मानसिक स्वास्थ्यमा समेत सकारात्मक असर पर्न सक्छ।
हरित शहर: विश्वका केही उदाहरण
सिंगापुर, कोपनहेगन (डेनमार्क), भेन्कुभर (क्यानाडा) जस्ता शहरहरू अहिले विश्वमै 'हरित शहर'को रूपमा चिनिन्छन्। यिनीहरूमा प्रत्येक बासिन्दाको पहुँचमा हरित क्षेत्र पुग्ने व्यवस्था गरिएको छ। सार्वजनिक पार्क, साइकल लेन, पैदल यात्रु मैत्री सडक, खुला व्यायामस्थल जस्ता संरचनाले मानिसहरूलाई सक्रिय, स्वस्थ र दीर्घजीवी बनाइरहेका छन्।
यस्ता शहरहरूले देखाएको उदाहरण हामीजस्ता विकासोन्मुख देशहरूका लागि अझै सान्दर्भिक छ। यहाँ जनस्वास्थ्य प्रणाली अझै सुधारको प्रक्रियामा छ र रोगको उपचारभन्दा पूर्वरोकथाममा ध्यान दिनु अझै सस्तो र प्रभावकारी उपाय हो।
विराटनगरको लागि सम्भावना
विराटनगरको सन्दर्भमा कुरा गर्दा, केही स्थानहरूमा खुला जिम (open gym) निर्माण भएका छन्। यस्ता संरचनाहरूले धेरैलाई प्रेरणा दिएको छ। तर, यी खुला जिमहरू सबै वडामा छैनन्। हरेक वडामा कम्तीमा एउटा खुला व्यायामस्थल बनाउन सकिने सम्भावना छ। विद्यालय, टोल सुधार समिति, उद्योगी-व्यवसायी, स्वयंसेवी संस्था र स्थानीय सरकार मिलेर सार्वजनिक-निजी साझेदारी (PPP model) मा यस्ता संरचना विस्तार गर्न सकिन्छ।
त्यसैगरी, नगरको भूगोललाई ध्यानमा राख्दै विभिन्न स्थानहरूमा हरियालीयुक्त बहुउपयोगी पार्कहरू निर्माण गर्न सकिन्छ, जहाँ बालबालिकादेखि वृद्ध-वृद्धासम्म सबैले आफ्ना गतिविधिहरू सहज रूपमा गर्न सकून्।
अशक्त र ज्येष्ठ नागरिकमैत्री योजना
पार्क र व्यायामस्थलहरूमा विशेष खालका ट्र्याकहरू, सिटहरू, शौचालय सुविधा, सौर्य बत्ती लगायतको व्यवस्था गरिएको खण्डमा तिनीहरू असल सामुदायिक केन्द्र बन्न सक्छन्। त्यस्ता स्थानहरूले मानसिक तनाव कम गर्ने, सामाजिक घुलमिल बढाउने, र शारीरिक निस्क्रियता हटाउने भूमिका खेल्दछन्।
'नसर्ने' रोग न्यूनीकरणमा योगदान
नेपालभर गैर-संक्रामक रोग (नसर्ने रोग) हरू, जस्तै उच्च रक्तचाप, मधुमेह, मुटु रोग, आदि वृद्धि हुँदै गएका छन्। विराटनगरमा पनि यस्ता रोगहरूको बढ्दो दर चिन्ताको विषय बनिसकेको छ। नियमित व्यायाम, ध्यान, र मानसिक स्वास्थ्यमैत्री वातावरणको अभावले यी रोगहरू झन जरा गाड्दै छन्। पार्क र व्यायामस्थलहरूले यस्ता रोगहरूको रोकथाममा ठुलो योगदान दिन सक्छन्।
निष्कर्ष
विकासोन्मुख मुलुक नेपालका सहरहरूमा अबको रणनीति स्वास्थ्यमुखी, हरित र दिगो विकासमा केन्द्रित गर्नुपर्ने बेला आएको छ। विराटनगरले हरेक वडामा खुला व्यायामस्थल, सबैलाई पुग्ने स्थानमा हरियालीयुक्त पार्क, साइकल मैत्री सडक र प्रदूषण न्यून बनाउने योजना कार्यान्वयन गरिनुपर्छ।
यो न केवल एक स्वस्थ शहर बनाउने प्रयास हुनेछ, यो भविष्यका लागि टिकाउ र समावेशी शहर बनाउने पाइला हुनेछ। विराटनगरले स्वस्थ बन्छ भन्ने सपना अब योजना र कार्यान्वयनमा बदलिनुपर्छ।
View : 146
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved