Biratnagar, Morang, Nepal
स्वास्थ

सर्पदंशबाट ज्यान जोगाउन समयमै उपचार र जनचेतनामा जोड

-
अखवारका कुरा
२७ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । सर्पदंशपछि अपनाइने गलत उपचार विधि र अस्पताल पुग्न हुने ढिलाइले ज्यान जोखिममा पर्ने भन्दै विज्ञले समयमै उपचार र जनचेतना विस्तारमा जोड दिएका छन् । फेयरमेड र सिबिआर विराटनगरले आज सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा नेपालमा सर्पदंशको अवस्था, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र करिब एक हजारको मृत्यु हुने अनुमान प्रस्तुत गरे । सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न सुरक्षित प्राथमिक उपचार, तत्काल अस्पतालसम्मको पहुँच र समुदायमा सचेतना आवश्यक रहेको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । यसका लागि समुदायमा सचेतना, प्रभावकारी उपचार र स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकता दिइएको छ ।

श्रेष्ठका अनुसार विशेषगरी तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति, सपेरा र बालबालिका सर्पदंशको उच्च जोखिममा छन् । खेतबारीमा काम गर्दा, राति हिँड्दा तथा भुइँमा सुत्दा आवश्यक सावधानी अपनाउनुपर्ने उनले बताए ।

अन्तरक्रियामा नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु रहेको जानकारी दिइयो । गोमन, करैत, किङ कोब्रा, कोरल र विभिन्न प्रकारका भाइपर विषालु सर्पमा पर्ने श्रेष्ठले बताए । गोमन र करैतको विषले स्नायु प्रणालीमा असर गरी पक्षघात तथा श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्ने र भाइपरको विषले रगत जम्ने प्रक्रियामा अवरोध पुर्‍याउन सक्ने उनले जानकारी दिए ।

सर्पदंशपछि धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, आगोले डाम्ने तथा अप्रमाणित घरेलु उपचार अपनाउँदा उपचारमा ढिलाइ हुने र बिरामीको अवस्था गम्भीर बन्न सक्ने श्रेष्ठले बताए । यस्ता अभ्यासमा समय खर्च नगरी तत्काल सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

बिरामीलाई शान्त राख्ने, अनावश्यक हिँडडुल गर्न नदिने र प्रभावित अङ्गलाई काम्रोको सहायताले स्थिर राखेर छिटो उपचार केन्द्र लैजानुपर्ने सुझाव दिइयो । कसिलो डोरी वा पट्टी बाँध्न नहुने तथा सुन्निन सक्ने भएकाले औँठी, चुरा र अन्य कसिला वस्तु हटाउनुपर्ने नेपालको सर्पदंश व्यवस्थापन निर्देशिकामा उल्लेख छ ।

फेयरमेडका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत रुषा उपाध्यायले सर्पदंशबाट हुने क्षति घटाउन समुदायसम्म सही सूचना पुर्‍याउन आवश्यक रहेको बताइन् । जोखिममा रहेका समुदायलाई रोकथाम, सुरक्षित प्राथमिक उपचार र उपलब्ध उपचार केन्द्रबारे जानकारी दिन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

सिबिआरका जिल्ला प्रोजेक्ट संयोजक जेनिश चौधरीले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बढाएर सर्पदंशका बिरामीलाई समयमै उपचारसम्म पुर्‍याउनुपर्ने बताइन् । सचेतनासँगै आपत्कालीन यातायातको व्यवस्था र उपचार केन्द्रसँगको सम्पर्कलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा उनले जोड दिइन् ।

सर्पदंशबाट बच्न खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउन, भुइँमा नसुत्न, झुल प्रयोग गर्न, घरवरिपरि सफा राख्न तथा मुसाको नियन्त्रण गर्न आग्रह गरिएको छ । राति हिँड्दा टर्च प्रयोग गर्न र सर्प लुकेर बस्न सक्ने ठाउँमा सावधानी अपनाउन पनि सुझाव दिइयो ।

श्रेष्ठले स्थानीय सरकारले सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम, आवश्यक उपकरण र प्रशिक्षित स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्नुपर्ने बताए । गम्भीर बिरामीका लागि भेन्टिलेटर तथा सघन उपचार सेवामा पहुँच विस्तार गर्दै समुदायस्तरमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

View : 60

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved