गुनासो गर्न छोडिदिएँ मैले,
आफ्नै भनिएकाहरू पराई भएपछि।
भोको पेटमा पनि मुस्कुराउन थालेँ,
खाँदै गरेको थालको भातसमेत खोस्न थालेपछि।
मनको कुरा कसलाई सुनाऊँ, जब अग्रज नै पराई भएपछि
झगडा गर्न सकिनँ मैले,
अग्रजलाई सम्मान दिँदा दिँदै।
आशा मारेँ, निराश भएर चुपचाप सहेर बस्न थालेँ,
खाँदै गरेको थालको भातसमेत खोस्न थालेपछि।
मनको कुरा कसलाई सुनाऊँ, जब अग्रज नै पराई भएपछि
आँसु बगाउन छोडिदिएँ मैले,
पीडामा झन् पीडा थप्न थालेपछि।
मानवता र इमानदारिताको पर्खाइमा बाँच्न थालेँ,
शक्तिको दुरुपयोग, छलकपट, वंशवाद र नातावाद हाबी हुँदै गएपछि।
मनको कुरा कसलाई सुनाऊँ, जब अग्रज नै पराई भएपछि
लाटोझैँ मौन हुन थालेँ मैले,
अवहेलना र आत्मसम्मानमा चोट लागेपछि।
एकान्तमा पनि मुस्कुराउन थालेँ,
दोष अरूमा थोपरेर आफू चोखिन खोज्ने कपटी विद्वानहरू भेटेपछि।
मनको कुरा कसलाई सुनाऊँ, जब अग्रज नै पराई भएपछि
बोल्न अनि मुस्कुराउन छोडिदिएँ मैले,
दशकौँको नेतृत्व र सीपको मेहनतको कदर नभएपछि।
मौन बस्नै रुचाउन थालेँ,
नयाँहरू पुरस्कृत र पुरानाहरू अपहेलित भएको देखेपछि।
मनको कुरा कसलाई सुनाऊँ, जब अग्रज नै पराई भए।
शक्तिको नाममा प्रजातान्त्रिक भनी निरंकुश भएपछि ।
View : 598
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved