Biratnagar, Morang, Nepal
+977-9708590006
देश

जितिया पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन राज्यको ध्यान जानू आवश्यक : डाक्टर बाल कृष्ण साह

८ असोज २०८१, मङ्गलवार

डाक्टर बाल कृष्ण साह

Advertisement

देशको बहुसंख्यक भुगोलमा यति बेला जितिया पर्वको रौनक छाएको छ । मधेसमा अझ बढी यस पर्वलाई महत्व दिएर मनाउने गरिन्छ । यस पर्वको पौराणिक पक्ष देखि बर्तमान अवस्था र राज्यले पूरा गर्नु पर्ने दायित्व लगायत बिषयलाई समेट्दै हामीले तेली कल्याण समाज मोरङका अध्यक्ष डाक्टर बाल कृष्ण साह सङ्ग कुराकानी गरेका छौँ । प्रस्तुत छ डाक्टर साह सङ्ग गरिएको कुराकानीको सम्पादित अंश :

१.जितिया पर्व के हो ? 

भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जितमहान थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून् भनी नेपालको मिथिला क्षेत्र र उत्तर तथा पूर्व भारतमा जितिया श्रद्धापूर्वक मनाइन्छ ।

यस पर्वमा आमाहरू आफ्ना सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै चौबीस घण्टा वा अझै बढी निर्जला व्रत बस्छन् जो ‘जितिया व्रत’ नामले प्रख्यात छ । निर्जला व्रतमा पानी पिउन पनि वर्जित हुन्छ । यसरी अन्नपानी केही नखाई आफ्ना सन्तानको सुखशान्ति र चिरायुका लागि आमाहरूले व्रत बस्छन् ।

२.यो पर्व कसरी मनाइने गरिन्छ ?

जितिया पर्वमा आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु स्नान गरी चोखो हुने हुन्छ । व्रतालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पण गर्छन् । साथै पर्वको संकल्प पनि गर्छन् । यसै सप्तमी तिथिको उत्तरार्धमा व्रतालु महिला ओङ्गठन गर्ने गरिन्छ ।

व्रत बस्नुअघि रात्रिको समयमा दही, चिउरा, मिठाई लगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।

 ‘धियापुताके ठैग सुताबी, अपना खाए भैर थारी’ अर्थात् केटाकेटीहरुलाई केही खान्न भनी ठगेर सुताउने तर आफू चाहिं टन्न खाने भन्ने उखान जितियामा प्रचलित छ । रातको समयमा ओङ्गठन खाने भएर नै त्यसो भनिएको हो ।

अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु हुन्छ । तिथिको समयमा हेरफेर भएको अवस्थामा व्रतालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । नवमी तिथिको आगमनपछि पूजापाठ गरेर पारन गरेर अर्थात् खाएर जितिया पर्वको समापन हुन्छ ।


३. यस बर्ष यो पर्व कहिले देखि कहिले सम्म मनाइदै छ ?

यस वर्ष हिजो असोज ७ गते सोमबार नुहाएर घिरौंलाको पातमा पीना र तेल अर्पण गरिएर मनाउन सुरु गरिएको छ ।
सोमबार राति देखि  मंगलबार बिहान उज्यालो हुनु अगाडि करिब ४ बजेको सेरोफेरो सम्ममा ओङ्गठन खाएर उपवास सुरु भएको छ भने  बुधबार साँझको ५ बजेपछि मात्र अर्थात् ३७ घण्टा ४ मिनेटपछि मात्र पारन (खान) मिल्ने हुन्छ ।


४.यस पर्वको पहिचानका लागि के गर्न पर्छ जस्तो यहाँलाई लाग्दछ ?


 शास्त्र हराए, संस्कार हराउँछ ।
संस्कार हराए, संस्कृति हराउँछ ।
संस्कृति हराए, पहिचान हराउँछ ।
र पहिचान हराए, राष्ट्र हराउँछ ।।

आवश्यकता संस्कृति संरक्षणकाे र अल्पसंख्यक, लाेपउन्मुख संस्कृतिकाे पनि संरक्षण हुने नीति राखेकाे हाम्राे देशमा बहुसंख्यकले मनाउदै आएका जितियाबारे अझै अन्याेल छ । कतै जितिया थाहा छैन भन्छन् त कतै थारुहरुकाे महान चाड मात्रै भन्छन् । यसले समग्रमा अन्य जातहरुकाे अस्तित्व माथि नै प्रश्न उठाएकाे छ । त्यसैले जाे जसले याे मनाउछन् सबैले अवाज उठाउनुकाे अर्को विकल्प छैन  ।


५.तेली समाजले यस पर्वको उत्थानका लागि के गर्दैछ ?

तेली समान्यतया कृषि र व्यपारमा सग्लन भएको समुदाय हाे । नेपालमा कुलजनसंख्याकाे १ दशमल ४३ प्रतिसत मात्रै रहेकाे याे समुदायकाे मुख्य बाहुल्य सप्तरी, सिरहा, धनुषा, राैतहट, पर्सा, बारामा छन् । काेशी प्रदेशमा संख्यात्मक हिसाबले कम रहे पनि सुनसरी, माेरङ्ग, झापा लगायतमा  गरि १ लाखकाे हराहारीमा छन् ।

 तेलीहरु व्यक्ति जीवनमा सफल रहे पनि राजनीतिक र संगठनमा केही कमजाेर अवश्य छन् । फेरि याे जितिया तेलीकाे मात्रै हाेईन ।

 त्यसैले तेली कल्याण समाज नेपालकाे माेरङ जिल्ला अध्यक्षकाे हैसियतले म माेरङकाे विभिन्न जातिय संगठनहरुसंग समन्वय र सहकार्य गरेर जितिया बारे रहेकाे अन्याैलता अन्त गरि यहाँका पात्राेहरु, यहाँका समाजिक शिक्षामा जितियाबारे जानकारी र अध्ययन गराउन दवाब दिने कामलाई सबै मिलि अघि बढाउने नेतृत्व लिएको छु । 

 

६.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
राज्य भनेकाे कसैकाे पेवा पक्कै हाेईन । याे हामी सबैको हाे । हाेला, नेतृत्वमा काेहि अगाडि अनि काेहि पछाडि । तर राज्यले सबैलाई  प्रतिनिधित्व गराउन सक्नुपर्छ ।

 राज्यको नेतृत्वमा रहेकाहरुले जितियाबारे प्रष्ट छैनन्  र प्रष्ट नहुनुमा नेतृत्व पक्ष मात्रै जिम्मेवार छैन । हामीले पनि स्विकार गर्न सक्नुपर्छ कि  सहि कुराकाे वकालत गर्न हामीले पनि  नसकेको हाे । जब राज्य प्रष्ट हुन्छ, समस्या सकिन्छ । राज्यलाई हामी प्रष्ट बनाउन लागि परेका छाै । आशा छ याे अन्याैलता चाडै सकिनेछ र यो पर्व मनाउने आमा दिदी बहिनीको मुहारमा खुसी छाउने छ ।

View : 335

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved