Biratnagar, Morang, Nepal
पर्यटन

आरोग्य पर्यटनको विश्व मानचित्रमा नेपाल : संभावित गन्तव्यहरु

-
अखवारका कुरा
७ असार २०८३, आइतवार

Advertisement

नेपाल हिमाल, प्रकृति र संस्कृतिको देश मात्र होइन, ध्यान र आध्यात्मिक चेतनाको भूमि पनि हो। विश्व शान्तिका प्रतीक भगवान बुद्धको जन्म यही भूमिमा भएको थियो। हजारौं वर्षदेखि हिमालका गुफा, मठ, आश्रम र वन क्षेत्रमा ऋषिमुनि तथा साधकहरूले ध्यान र तपस्याको अभ्यास गर्दै आएका छन् ।  नगरकोट र धुलिखेलः प्राकृतिक शान्तिको गन्तव्य ः काठमाडौंबाट नजिकै रहेका यी पहाडी स्टेसनहरू ‘डिजिटल डिटक्स’ र हिमालयको दृश्यसहितको योग अभ्यासका लागि उपयुक्त छन्। यहाँका धेरै इको–रिसोर्टहरूले वन स्नान र योग रिट्रिटहरू सञ्चालन गर्छन्।

योग, ध्यान र स्थानीय जीवनशैली

नेपालको आरोग्य पर्यटनको सबैभन्दा ठूलो विशेषता यसको मौलिकता हो। हिमाली जडीबुटी, जैविक खाद्य संस्कृति, गाउँको जीवनशैली, होमस्टे, आयुर्वेद, प्राकृतिक चिकित्सा, स्थानीय परम्परा र धार्मिक संस्कारले योग तथा ध्यानलाई अझ प्रभावकारी बनाउँछन् । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आधुनिक मानिसले खोजिरहेको ‘स्लो लाइफ’ अर्थात् सरल र शान्त जीवनशैली नेपालका ग्रामीण क्षेत्रमा अझै पनि जीवित छ । यही जीवनशैलीलाई पर्यटनसँग जोड्न सके नेपालले नयाँ बजार सिर्जना गर्न सक्छ ।

विश्व बजारमा नेपालको अवसर

भारतले योगलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाइसकेको छ । संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेपछि यसको लोकप्रियता झन् बढेको छ ।

ग्लोबल वेलनेस इन्स्टिच्युट र ग्लोबल वेलनेस समिट २०२६ रिपोर्ट अनुसार थाइल्याण्डले समग्र स्वास्थ्य पर्यटनमा ठूलो लगानी गरिरहेको छ । चीनले थर्मल स्पा र प्राकृतिक उपचारलाई प्राथमिकता दिएको छ। युरोप र अमेरिकाका धेरै होटल तथा रिसोर्टहरूले मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

यस्तो अवस्थामा नेपालले आफ्नो मौलिक पहिचानलाई बलियो बनाउन सके प्रतिस्पर्धामा अगाडि आउन सक्छ । नेपालसँग हिमालय छ, बुद्धको भूमि छ । ध्यान र साधनाको हजारौं वर्ष पुरानो इतिहास छ । प्राकृतिक जडीबुटी, जैविक जीवनशैली र आध्यात्मिक संस्कृति छ । यी सबै कुरा विश्व बजारमा अलग्गै पहिचान बनाउने आधार हुन् । 

अब के गर्नुपर्छ ? 

नेपालले योग र ध्यान पर्यटनलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न आवश्यक छ । ध्यान केन्द्रहरूको स्तरीकरण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका योग रिट्रिट, प्रशिक्षित प्रशिक्षक, गुणस्तरीय सेवा, अन्तर्राष्ट्रिय प्रचार तथा डिजिटल मार्केटिङमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आगामी १० वर्षमा नेपाललाई वेलनेस डेस्टिनेसनका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाउने योजना पनि छ । 

‘नेपाल आउने धेरै पर्यटक प्रकृतिको नजिक हुन, मानसिक शान्ति प्राप्त गर्न र फरक जीवन अनुभव लिन आउँछन्। ट्रेकिङ, होमस्टे, ध्यान, योग र अध्यात्मलाई एउटै प्याकेजमा जोड्न सकियो भने नेपाल विश्वकै प्रमुख वेलनेस गन्तव्य बन्न सक्छ,’ उनले भने । 

संसार अहिले मानसिक शान्तिको खोजीमा छ । मानिसहरू प्रविधि र व्यस्त जीवनशैलीबाट केही समय टाढा गएर आफूलाई पुनःचिन्न चाहन्छन् । योग, ध्यान र प्रकृतिसँगको सम्बन्ध त्यसको प्रभावकारी माध्यम बनेको छ ।

नेपालसँग संसारले खोजिरहेको हिमालयको शान्ति, बुद्धको सन्देश, योगको अभ्यास, ध्यानको अनुभूति र प्रकृतिको अनुपम ऊर्जा छ । त्यसैले नेपाल आरोग्य पर्यटनको अब्बल गन्तब्य बन्ने संभावना छ । 

सरकारले ‘आरोग्य पर्यटन रणनीति’ मार्फत राष्ट्रिय स्तरमै यसलाई प्राथमिकता दिएकाले व्यावसायिक रूपमा ठूला पूर्वाधार र एकीकृत आरोग्य केन्द्रहरूको विकास गर्ने राम्रो अवसर छ । 

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved