छठ पर्व
विराटनगर ।
मिथिलाञ्चल क्षेत्रमा आस्था, पवित्रता र सूर्य उपासनाको पर्वका रूपमा मनाइने छठ पर्व नजिकिँदै गर्दा, यस पर्वका व्रतालु तथा सहभागी परिवारका लागि खरनाको दिन (कार्तिक ९ गते) पनि विदाको व्यवस्था गरिनुपर्ने मागसहित कोशी प्रदेश सरकारलाई निवेदन दिने निर्णय गरिएको छ।
शनिबार तिनपैनी स्थित मिडिया हाउस, विराटनगर–२ मा बसेको बैठकमा १५ भन्दा बढी जातीय र सामाजिक संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए।
बैठकमा सर्वसम्मत रूपमा छठ पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे चर्चा गर्दै व्रतालुहरूलाई नियमित कार्य गर्न नसक्ने अवस्थाको संवेदनशीलता बुझ्न सरकारलाई आग्रह गरिएको छ।
बैठकमा प्रस्तुत निवेदनमा उल्लेख गरिएको छ— नेपाल सरकारले कार्तिक १० गते (सन्ध्या अर्घ) का दिन राष्ट्रिय विदा र कोशी प्रदेश सरकारले कार्तिक ११ गते (समापन अर्घ) का दिन प्रदेश विदा दिने निर्णय गरिसकेको छ।
त्यसैले, खरनाको दिन (कार्तिक ९ गते) पनि व्रतालुहरूका लागि वैकल्पिक वा विशेष विदा दिन अनुरोध गरिएको छ।
बैठकले उक्त निवेदन प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूलाई आइतबार बिहान औपचारिक रूपमा बुझाउने निर्णय गरेको छ।
बैठकमा विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो, जसमा डा. बालकृष्ण साह (तेली कल्याण समाज नेपाल), विजयकुमार राय अमात (डीक्का महासंघ नेपाल), खंगलाल साह (नेपाल सुडी समाज), नवीन कर्ण (मैथिली विकास अभियान), महेश्वर यादव (नेपाल यादव सेवा समिति), प्रमिला कर्ण (कर्ण महिला गोष्ठी विराटनगर), गणेश साह (नेपाल वैश्य सेवा संघ), कुमार साह (हलुवाई समाज कल्याण समिति), पंकज वर्मा लगायतका नेताहरू सहभागी थिए।
सहभागीहरूका अनुसार, छठ केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता, पारिवारिक शुद्धता र आस्थासँग गहिरो रूपमा सम्बन्धित पर्व हो।
यसका सबै चरणहरूमा व्रतालुहरूलाई विश्राम र तयारीका लागि समय आवश्यक हुने भएकाले खरनाको दिन सरकारी कार्यालय, विद्यालय तथा अन्य निकायमा कार्यरत व्रतालुहरूलाई विशेष छुट वा वैकल्पिक विदा दिनुपर्ने माग गरिएको हो।
बैठकले प्रदेश सरकारले विविधता, सहिष्णुता र सांस्कृतिक समावेशीकरणलाई प्राथमिकता दिँदै आएको नीतिको प्रशंसा गर्दै, यस विषयमा सकारात्मक पहलको अपेक्षा पनि व्यक्त गरेको छ।
View : 242
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved