विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ ।
अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो ।
परिकल्पनाअनुसार काठमाडौंबाट बिहान ७ः२० बजे उडेको ‘एक्सरसाइज एयर’को इए–००६ नम्बरको विमान अवतरणका क्रममा ‘एब्नर्मल रनवे कन्ट्याक्ट’ भएपछि पहिलो प्रयास असफल भई ‘मिस्ड अप्रोच’ गरिएको देखाइएको थियो । त्यसपछि बायाँ ल्यान्डिङ गियरमा समस्या देखिँदा पुनः अवतरण गर्ने क्रममा बिहान करिब ८ः०५ बजे दुर्घटना भएको दृश्य प्रस्तुत गरिएको थियो ।
बिहान ८ः१० बजे जारी पहिलो प्रेस विज्ञप्तिमा ५५ जना सवार विमान दुर्घटनाग्रस्त भएको उल्लेख गर्दै यात्रु तथा चालक दलको अवस्था खुल्न बाँकी रहेको र उद्धार कार्य जारी रहेको जानकारी गराइएको थियो। साथै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाइएको थियो ।
त्यसपछि ८ः२५ बजे जारी दोस्रो विज्ञप्तिमा विस्तृत विवरण सार्वजनिक गर्दै ५ जनाको मृत्यु, ६ जना गम्भीर घाइते, १५ जना घाइते र २५ जना सामान्य घाइते भएको परिदृश्य प्रस्तुत गरिएको थियो । विमानमा २३ महिला, २८ पुरुष र ४ चालक दल सदस्य सवार रहेको तथा ४ जना भारतीय नागरिक पनि रहेको उल्लेख गरिएको थियो ।
अन्तिम रूपमा ८ः४५ बजे जारी तेस्रो विज्ञप्तिमा उद्धार कार्य सम्पन्न भएको र बिहान ९ः१० बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आएको जानकारी दिइएको थियो । गम्भीर घाइतेलाई विभिन्न अस्पतालमा पठाइएको र सामान्य घाइतेलाई प्राथमिक उपचारपछि आफन्तको जिम्मा लगाइएको देखाइएको थियो । मृत्यु भएका ५ जनाको शव पोस्टमार्टमका लागि पठाइएको अभ्यासमा समेटिएको थियो ।
अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, विभिन्न अस्पताल तथा विराटनगर महानगरपालिकाको दमकल सेवा परिचालन गरिएको थियो । आगो नियन्त्रणदेखि घाइते उद्धार र अस्पताल व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रिया समन्वयात्मक रूपमा अभ्यास गरिएको थियो ।
विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार यस्ता अभ्यासले सम्भावित दुर्घटनाको अवस्थामा छिटो, प्रभावकारी र समन्वित प्रतिक्रिया सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, जोखिम न्यूनीकरण, उद्धार कार्यको प्रभावकारिता वृद्धि र उद्धारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अभ्यास नियमित रूपमा गरिने उनले बताए ।
View : 37
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved