प्रतिनिधिसभा निर्वाचन
काठमाडौं - नेपाली कांग्रेस ले प्रतिनिधि सभा निर्वाचनको मुखैमा केन्द्रीय प्रचार–प्रसार संरचनालाई थप मजबुत बनाउदै लगेको छ। पार्टीले सामाजिक व्यक्तित्व तथा युवा नेता आशिष ओझालाई केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गर्दै चुनावी मैदानमा सन्देश, रणनीति र जनसम्पर्कलाई एकीकृत रूपमा अघि बढाउने जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी पत्रमा प्रवक्ता तथा केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेले ओझालाई जिम्मेवारी प्रदान गरिएको जानकारी दिएका छन्। पत्रमा प्रचार अभियानलाई थप सशक्त, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यले उनलाई समितिमा समेटिएको उल्लेख छ।
पछिल्लो समय युवामाझ प्रभाव विस्तार गरेका ओझा सामाजिक अभियान, डिजिटल प्लेटफर्म र प्रत्यक्ष जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्। निर्वाचनको संघारमा उनी प्रचार रणनीतिलाई नयाँ ऊर्जा दिन, सन्देशलाई मतदातासम्म प्रभावकारी रूपमा पुर्याउन र संगठनलाई गतिशील बनाउन खटिने अपेक्षा गरिएको छ। कांग्रेस स्रोतका अनुसार युवा पुस्तालाई आकर्षित गर्ने र सामाजिक–सांस्कृतिक आयामलाई अभियानसँग जोड्ने योजनाअन्तर्गत उनको भूमिका महत्वपूर्ण मानिएको छ।
निर्वाचन प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला कांग्रेसले प्रचार–प्रसार संयन्त्रमा सक्रिय र पहिचान बनाएका व्यक्तित्वलाई समेट्दै अभियानलाई आक्रामक बनाउने संकेत दिएको छ। नेतृत्वले ओझाको संलग्नताले चुनावी सन्देशलाई एकीकृत, स्पष्ट र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
ओझाले भने आफूलाई दिइएको जिम्मेवारीलाई लोकतान्त्रिक मूल्य र पार्टीको विचारलाई जनतामाझ पुर्याउने अवसरका रूपमा लिँदै परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन ।
View : 314
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved