विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रदेशसभा सदस्य चुमनारायण तवदार मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापति पदका लागि उम्मेदवार बनेका छन्। संगठनलाई थप मजबुत, व्यवस्थित र संस्थागत बनाउने एजेन्डासहित तवदारले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
तवदारले आफू क्षेत्रीय सभापति बन्न खोज्नुको मुख्य उद्देश्य ‘सबै अट्ने कांग्रेस’ निर्माण गर्नु रहेको बताएका छन्। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धापछि पनि सबै नेता–कार्यकर्तालाई समेटेर संगठनलाई एकताबद्ध रूपमा अघि बढाउने उनको भनाइ छ।
संगठन सुदृढीकरणसँगै तवदारले कांग्रेसको आफ्नै भौतिक संरचना निर्माणलाई पनि प्राथमिकतामा राखेका छन्। उनले कांग्रेसका लागि एक कट्ठा जग्गा प्रदान गरेको बताउँदै आफू क्षेत्रीय सभापतिमा निर्वाचित भए उक्त जग्गामा कांग्रेसको आफ्नै क्षेत्रीय भवन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
क्षेत्रीय भवनलाई पार्टीका बैठक, प्रशिक्षण, छलफल तथा संगठनात्मक गतिविधिको स्थायी केन्द्रका रूपमा विकास गर्ने उनको योजना छ। वडा तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई सक्रिय बनाउने, नेता–कार्यकर्ताबीच नियमित संवाद र समन्वय बढाउने तथा कार्यकर्ताका सुझाव र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने विषयलाई पनि उनले आफ्नो एजेन्डामा समेटेका छन्।
तवदारले अधिवेशनको प्रतिस्पर्धालाई पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया भन्दै निर्वाचनपछि सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। “सबै अट्ने कांग्रेस बनाउन म क्षेत्रीय सभापतिमा आएको हुँ,” उनले भने।
मोरङ–६ मा क्षेत्रीय सभापतिसहित विभिन्न पदमा आकांक्षीहरू देखिएसँगै कांग्रेसको अधिवेशनलाई लिएर राजनीतिक सरगर्मी बढेको छ। तवदारले भने आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, आन्तरिक एकता र पार्टीको संस्थागत विकाससँग जोडेर अघि सारेका छन्।
View : 51
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved