काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो। चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ।
दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर चलचित्रको जम्बो टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो। निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकहरूको हुटिङ, सिट्ठी र गडगडाहट तालीले माहौल निकै रोमाञ्चक बनेको थियो। पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष रूपमा आफ्नै अगाडि पाउँदा दर्शकहरूको क्रेज र उत्साह हलभित्र छताछुल्ल भएको देखिन्थ्यो।
सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई ’नेपालीपन बोकेको अब्बल मास्टरपिस’ को संज्ञा दिएका छन् । कथावस्तु र प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउन सफल भएको छ। विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेता द्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ । दर्शकबाट प्राप्त यो अपार माया र बलियो ‘वर्ड अफ माउथ’ को बाढीले आगामी दिनमा प्रकु पाण्डेय निर्देशित ‘मालती मंगले’ को बक्स अफिस यात्रा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ ।
View : 50
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved