काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।
सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायी मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने चरणमा पुगेको हो ।
भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् । मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ ।
यसका साथै पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० वटा कम्पनी सहभागी हुनेछन् । १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले उल्लेख्य फड्को मारेको नाडाले जनाएको छ । हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् । विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गरेको र यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको तथ्यांक प्रस्तुत गरिएको छ ।
त्यस्तै, देश हरित गतिशीलतातर्फ उन्मुख हुँदै जाँदा नेपालमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन् । ती सवारीसाधनका लागि करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जालसमेत तयार भइसकेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करण केवल संस्थाको उत्सव मात्र नभई सिङ्गो अटोमोबाइल उद्योगको योगदानको लेखाजोखा भएको बताए ।
उनले भने, ‘पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री ग¥यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छु’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो ।’
नेपालको अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको जनाएको छ ।
View : 31
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved