काठमाडौं - भारत भ्रमणमा रहेका रबी लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ।
भेटपछि मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजान भारत प्रतिबद्ध रहेको बताएका छन्। उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने लामिछानेको प्रतिबद्धतालाई स्वागतयोग्य रहेको उल्लेख गरेका छन्।
मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा त्यहाँका विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाट गरिरहेको छ। मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय राजनीतिक संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
मोदीले सार्वजनिक गरेको सन्देशले नेपालको भारतको विदेश नीतिमा रहेको प्राथमिकतालाई पुनः पुष्टि गरेको विश्लेषण गरिएको छ। साथै, दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा सहकार्य विस्तार हुने विश्वाससमेत व्यक्त गरिएको छ।
View : 22
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved