मुगु । रारा ताल घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए ।
घिमिरेको शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको हो । उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आएकी थिइन् ।
उनीसँगै रहेका अन्य दुई जना शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) दुवै बाँके जिल्लाका रहेको जनाइएको छ । तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आएका थिए ।
रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो । मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएको र उनको परिचय खुल्ने मोबाइल तथा अन्य सामान भने रारा क्षेत्रको उक्त होटलमै रहेको जनाइएको छ ।
मृतकको लेक लागेर मृत्यु भएको आशंका गरिए पनि यसबारे थप जानकारी पोष्टमाटम रिपोर्टपछि मात्र थाहा हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।
View : 45
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved