युरोपेली नेसन्स लिग
एलियान्ज एरिनामा गएराति सम्पन्न रोमाञ्चक फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै युरोपेली नेसन्स लिगको उपाधि उचालेको छ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। तर, थप समयमा पनि गोल हुन नसक्दा उपाधिको टुंगो टाइब्रेकरमार्फत लागेको थियो। पेनाल्टी सुटआउटमा पोर्चुगलले स्पेनलाई ५–३ ले हराउँदै उपाधि आफ्नो नाममा लेखाएको हो।
खेलको सुरुवातमै स्पेनले अग्रता लिएको थियो। २१ औं मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। तर त्यो खुसी धेरै समय टिक्न सकेन। ५ मिनेटपछि नै, अर्थात् २६ औं मिनेटमा नुनो मेडिजले पोर्चुगलका लागि बराबरी गोल फर्काए।
त्यसपछि ४५ औं मिनेटमा मिकेल ओयरजबालले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। तर, दोस्रो हाफमा ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई पुनः बराबरीको स्थितिमा ल्याए।
निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित भएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो। स्पेनका लागि अल्भारो मोराटाले पेनाल्टी मिस गर्दा खेलको समीकरण पोर्चुगलतर्फ ढल्यो। पोर्चुगलले सबै पाँच पेनाल्टी सफलतापूर्वक परिणत गर्दै ५–३ को नतिजासहित उपाधि जित्यो।
यो जितसँगै पोर्चुगल युरोपेली फुटबलमा फेरि एकपटक आफ्नो प्रभावशाली उपस्थिति जनाउन सफल भएको छ।
View : 113
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved