विराटनगर । एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीको प्रमुख रोजाइमध्ये विराटनगरस्थित मेरिल्याण्ड कलेज परेको छ। कक्षा ११ मा भर्ना भएका विद्यार्थीमध्ये ४५ जनाले ३.९ देखि ४.० जीपीए प्राप्त गरेका छन् भने ६ जनाले ४.० जीपीए हासिल गरेको कलेजले जनाएको छ।
उत्कृष्ट नतिजा ल्याएर कलेजमा भर्ना भएका विद्यार्थीलाई बुधबार आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा कलेजका निर्देशक भेषराज पोखरेल, प्रिन्सिपल लक्ष्मण ढकाल, हास्य कलाकार मनोज गजुरेल तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेललगायतले विद्यार्थीलाई सम्मान गरेका थिए।
कलेजले कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने पाँच विद्यार्थीहरु तल्हा खाँ, सुरजकुमार यादव, प्रनाप्रियम मेहता, सुदिक्षा झा र धैर्य जैनलाई पनि सम्मान गरेको छ।
कार्यक्रममा बोल्दै गजुरेलले विद्यार्थीलाई प्रमाणपत्रसँगै सीपको महत्वबारे सचेत गराएका थिए। “एक हातमा सर्टिफिकेट र अर्को हातमा सीप हुनुपर्छ, सीपबिनाको प्रमाणपत्रले मात्र सफलता दिलाउन सक्दैन,” उनले भने।
कलेजका निर्देशक पोखरेलले गुणस्तरीय शिक्षाका कारण मेरिल्याण्ड उत्कृष्ट विद्यार्थीको रोजाइमा पर्न सफल भएको बताए। उनका अनुसार कलेजका पूर्वविद्यार्थीहरू हाल देश तथा विदेशका विभिन्न प्रतिष्ठित क्षेत्रमा आबद्ध छन्।
प्रिन्सिपल ढकालले मेरिल्याण्डले २४ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासित र जिम्मेवार बन्न आग्रह गरे। उनले असार ४ गतेदेखि नियमित पठनपाठन सुरु हुने जानकारी पनि दिए।
विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको उद्देश्य व्यवहार परिवर्तन हुनुका साथै सीपयुक्त जनशक्ति उत्पादन गर्नु रहेको बताए।
कलेजले यस वर्ष विज्ञान संकायमा २०३ र व्यवस्थापन संकायमा ६५० गरी कुल ८५३ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरेको जनाएको छ।
कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि दिएका थिए।
View : 116
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved