Biratnagar, Morang, Nepal
प्रदेश

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

-
अखवारका कुरा
४ भदौ २०८३, बिहिवार

Advertisement

 

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई तीन दलका गरी ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको जनाइएको छ । बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।

यसअघि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । तोकिएको समयभित्र थापाले बहुमतसहित दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापा बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बनेका छन् । उनको नियुक्तिसँगै प्रदेशमा नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

नवनियुक्त मुख्यमन्त्री थापाले बिहीबार नै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन् ।

थापाको नेतृत्वमा बन्ने नयाँ सरकारले प्रदेशको राजनीतिक स्थायित्वसँगै विकास निर्माण, बजेट कार्यान्वयन र प्रदेश संरचनालाई प्रभावकारी बनाउने विषयमा चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

View : 10

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved