दमक – प्राइम कमर्सियल बैंक लिमिटेड, कोशी प्रदेशद्वारा आयोजित फुट्सल प्रतियोगिता आज दमकमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा प्रदेशभरका विभिन्न शाखाहरूबाट सहभागिता जनाइएको थियो।
छ टिमको प्रतिस्पर्धामा इटहरी एरियाको टिमले दमक एरियालाई १–० को झिनो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इटहरी टिमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्यो।
कार्यक्रमको औपचारिक उद्घाटन कोशी प्रदेश प्रमुख रविन्द्र अर्यालले बल हस्तान्तरण गरी गरे। प्रतियोगिताको समग्र व्यवस्थापन र समन्वय क्लस्टर हेड ऋषीराम भट्टराई नेतृत्वको फुट्सल समन्वय इकाइले गरेको थियो।
बैंकका अनुसार प्रतियोगिताको उद्देश्य शाखा कर्मचारीहरूबीच आपसी सहकार्य, खेल भावना र टिमवर्क प्रवर्द्धन गर्नु रहेको थियो। खेलको समापनपछि विजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रत्येक टिमको उत्साह, अनुशासन र एकता देख्दा फुट्सल प्रतियोगिता केवल खेल मात्र नभई कर्मचारीहरूबीचको सम्बन्ध सुदृढ गर्ने माध्यमसमेत बनेको स्पष्ट देखिएको छ।
View : 427
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved