Biratnagar, Morang, Nepal
स्थानीय तह

विराटनगरमा ‘चिया सँग कथा’ : अनुभवलाई ज्ञानको स्रोत बनाउने प्रयास

-
अखवारका कुरा
२७ साउन २०८३, बुधवार

Advertisement

 

विराटनगर, २७ साउन — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरमा ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ कार्यक्रम आयोजना गरिएको छ। GOALS Foundation (Environment, Education, Entrepreneur) को आयोजनामा तथा NYCA Biratnagar र Engineers Without Borders Nepal, Purbanchal University Chapter को सहकार्यमा इलाइट क्लबमा कार्यक्रम सम्पन्न भएको हो।

‘Human Library’ अवधारणामा आधारित कार्यक्रममा सहभागीहरूले पुस्तकका पानाभन्दा बाहिर गएर विभिन्न क्षेत्रका व्यक्तिहरूको जीवनयात्रा, संघर्ष, अनुभव र सिकाइ सुन्ने अवसर पाए। कार्यक्रमको उद्देश्य युवालाई अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गराउँदै अनुभवलाई ज्ञान र प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा वातावरण तथा पत्रकारिताका विषयमा सक्रिय डा. रामचन्द्र अधिकारी, कवि तथा लेखक सीमा आभास तथा राजनीतिक तथा संसदीय पत्रकार अनन्तराज न्यौपानेले आफ्ना जीवन र पेशागत यात्राका अनुभव साझा गरेका थिए।

डा. अधिकारीले वातावरण पत्रकारितामा अनुसन्धान, तथ्यमा आधारित रिपोर्टिङ र निरन्तर अध्ययनको महत्वबारे धारणा राखे। उनले पत्रकारितामा विषयको गहिरो अध्ययन र प्रमाणमा आधारित लेखन अपरिहार्य हुने बताए।

सीमा आभासले महिला, पहिचान, शिक्षा र सामाजिक अनुभवसँग जोडिएका आफ्ना संघर्ष तथा सिर्जनात्मक यात्राबारे चर्चा गरिन्। व्यक्तिगत अनुभवलाई सामाजिक सन्दर्भसँग जोड्दै उनले युवालाई अध्ययन, आत्मविश्वास र आफ्नै आवाज निर्माणको महत्वबारे विचार राखिन्।

न्यौपानेले राजनीतिक पत्रकारिताका क्रममा भोगेका चुनौती, सार्वजनिक सरोकारका विषय र पत्रकारितासँगै साहित्यिक क्षेत्रमा सक्रिय रहँदाका अनुभव सुनाए। उनले चुनौतीलाई सिकाइ र अवसरमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागी युवाहरू र वक्ताबीच खुला प्रश्नोत्तर तथा संवाद सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूले करियर, अध्ययन, प्राथमिकता, सामाजिक उत्तरदायित्व र व्यक्तिगत विकाससँग सम्बन्धित प्रश्न राखेका थिए।

आयोजकका अनुसार ‘चिया सँग कथा’ कार्यक्रमले युवालाई मानिसका अनुभव, संघर्ष र जीवनयात्रालाई पनि सिकाइको महत्वपूर्ण माध्यमका रूपमा हेर्न प्रेरित गर्ने उद्देश्य राखेको छ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved