डिपोर्टको कथा
२६ जेठ, काठमाडौं।
अमेरिकाको सपना सजाएर गएका ३७ जना नेपाली आइतबार राति बोरा बोकेर स्वदेश फर्किए। ती सबै अमेरिकी अध्यागमन नियम उल्लंघनको आरोपमा डिपोर्ट गरिएका हुन्। उनीहरूलाई विशेष चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरू राति करिब ९ बजे ओर्लिए। अध्यागमन प्रक्रिया पूरा गर्दा करिब १२ बजेको थियो। उनीहरू बिस्तारै गेटबाट बाहिरिँदै थिए ।कसैको हातमा प्लास्टिकको झोला, कसैको काँधमा बोरा र अनुहारमा थकान र मौनताबीच एउटै प्रश्न झल्किन्थ्यो , अब के?
डिपोर्ट गरिएकामध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। विमानस्थल अध्यागमन कार्यालयका अनुसार उनीहरू स्वाभाविक अवस्थामा थिए, तर विमानभित्रको अवस्थाबारे जानकारी छैन।
सपना, संघर्ष र सिमा
अमेरिकामा नयाँ जीवनको सपना देख्दै गएका नेपालीहरूका लागि पछिल्लो समय परिस्थिति प्रतिकूल बन्दै गएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि कडाइ भएको अध्यागमन नीतिले अहिले झन कडा रूप लिएको छ।
भिसा अवधि सकिएपछि बसिरहनु, कानुनी प्रक्रिया नपु¥याउनु वा अनुशासन उल्लंघन गर्नु अमेरिकाबाट डिपोर्टको मुख्य कारण बन्न थालेका छन्।
अमेरिकाले कतिपय देशका आप्रवासीहरूलाई हत्कडी र नेलसहित फर्काएको विवरण सार्वजनिक भइरहेका छन्। यद्यपि, यसपटक फर्काइएका नेपालीहरूलाई त्यस्तो व्यवहार गरिएको थियो कि थिएन भन्ने खुलाइएको छैन।
गहिरो सन्देश , कठोर वास्तविकता
यो घटनाले एउटा चर्को यथार्थ दोहोर्याएको छ—विदेश जाने सपना हेर्दा कानुनी प्रक्रिया र वास्तविकता बुझ्न नसकिने हो भने त्यो सपना भत्कन धेरै समय लाग्दैन। अवैध वा अपूर्ण कागजातसहित विदेश प्रवेश गर्नु नफाइदाजनक मात्र होइन, अपमानजनक पनि हुन सक्छ।
देश फर्किएका यी नेपालीहरूको अनुहारमा थकान मात्र थिएन, थिए -असफल सपना, सामाजिक चिन्ता र भविष्यको अनिश्चितताको झल्को।
अबको बाटो के ?
सरकारले यस्ता घटनाहरू रोक्नका लागि सरकारले जनचेतनामूलक अभियान चलाउनु जरुरी देखिन्छ। विदेश जान चाहने नागरिकलाई अध्यागमन प्रक्रिया, कानुनी स्थिति र सम्भावित जोखिमबारे स्पष्ट जानकारी दिनुपर्ने देखिन्छ।
नागरिकले पनि वैदेशिक अवसरको खोजी गर्दा कानुनी बाटो नछोडौं। सजिलो बाटोको आशमा उठाइएको एक गलत कदमले जीवनको गति नै फेरिन सक्छ।
View : 147
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved