विराटनगर /असार ३२
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण बुधबार विराटनगर आएका बेला मोरङ उद्योग व्यापार संघको टोलीले भेटी उद्योगी–व्यवसायीका समस्या समाधानमा पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको नेतृत्वमा गएको टोलीले उद्योग–व्यापारमैत्री नीतिगत सुधारका लागि सरकारसँग संवाद गरिदिन आग्रह गरेको हो।
टोलीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट र मौद्रिक नीति विगतको भन्दा केही व्यवसायमैत्री देखिए पनि अझै सुधारको खाँचो रहेको उल्लेख गरेको छ। उद्योग–व्यापारलाई प्रतिकूल असर पर्ने गरी केही वस्तुमा करका दर हेरफेर गरिएको भन्दै त्यसमा पुनर्विचार गर्न माग गरिएको छ।
निवर्तमान अध्यक्ष रिजालले बीमाका अन्यायपूर्ण नीतिहरु खारेज गर्न, बीमा प्रिमियम दर घटाउन, कवाडीजन्य फलामको धुलो र टुक्रा सिसाको निकासीमा लगाइएको भन्सार महसुल हटाउनुपर्ने माग राखे।
पूर्व अध्यक्ष सारडाले वायर रड उद्योगका कच्चा पदार्थ एमएस वायर रडमा भएको भन्सार महसुल वृद्धि र सुतिका अत्यावश्यक लत्ताकपडामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने धारणा राखे।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष साहले सुन र बहुमूल्य पत्थर जडित गहनाको विक्री मूल्यमा लाग्ने २ प्रतिशत विलासिता शुल्क र १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै ती विषयमा पहल गरिदिन आग्रह गरे।
टोलीमा संघका वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजयकुमार श्रेष्ठ, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र महिला उद्यम समिति सदस्यहरूको समेत उपस्थिति थियो।
View : 81
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved