Biratnagar, Morang, Nepal
स्वास्थ

बर्डफ्लू संक्रमणविरुद्ध उच्च सतर्कता : डराउनुपर्दैन तर जैविक सुरक्षामा ध्यान दिन आग्रह

-
अखवारका कुरा
१९ असार २०८३, शुक्रवार

Advertisement

काठमाडौँ । नेपालका विभिन्न ११ जिल्लामा बर्ड फ्लू (वर्ड फ्लु) को सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको प्रस्ट पारेका छन् ।

विभागले उपभोक्ताहरूलाई नडराउन र सरोकारवालाहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

नेपाल न्युज बैँकको टेलिफोन सम्बादमा महानिर्देशक दाहालले रोग विशेषगरी जङ्गली पन्छी, अन्य चराचुरुङ्गी तथा कागबाट सर्ने गर्दछ । त्यसैले व्यावसायिक रूपमा पालिएका कुखुरालाई सुरक्षित राख्न, बाहिरी चराहरूलाई आफ्नो फार्मको नजिक आउन वा प्रवेश गर्न नदिन विभागले सम्पूर्ण कुखुरा पालक व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

फार्मको जैविक सुरक्षा नै यस रोगबाट बच्ने र व्यवसाय जोगाउने सबैभन्दा उत्तम उपाय भएको विभागको ठहर छ ।

हालसम्म देशका ११ जिल्लाहरू झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्डफ्लूको सङ्क्रमण फेला परेको छ ।

विभागको तीव्र सक्रियताका कारण झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा यो रोग सुरुमै पुष्टि भइ नियन्त्रणको दायरामा ल्याइएको हो ।

रोग नियन्त्रण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ (कन्ट्रोल रूम) समेत स्थापना गरिएको छ ।

सङ्क्रमण देखिएका स्थानहरूमा सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा द्रुत गतिमा ‘बर्डफ्लू रोग नियन्त्रण अभियान’ सञ्चालन भइरहेको छ । जसका कारण बाँकी रहेका क्षेत्रमा पनि रोग चाँडै नियन्त्रणमा आउने दाहालले विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, पशु क्वारेन्टाइन कार्यालयहरूले पनि सीमा नाका तथा सम्भावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन् । रोग भित्रिन नदिन सुरक्षा निकायको सहयोगमा अवैध रूपमा पैठारी गरिएका तथा शङ्कास्पद पन्छीहरूलाई आफ्नो फर्ममा प्रवेश नगराउन अनुरोध गरे । 

पन्छीबाट मानिसमा सङ्क्रमण फैलिन नदिन र आम नागरिकलाई सचेत बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि विशेष कदम चालेको छ ।

मन्त्रालयले सर्वसाधारणको मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्न सुरु गरेको छ । मोबाइल फोन गर्दा बज्ने यो उपयोगी सन्देशले आम नागरिक र किसानलाई रोगका लक्षण र यसबाट बच्ने उपायबारे सजग गराउन ठूलो मद्दत पु¥याएको दाहालले बताए । 

पछिल्लो समय प्रविधिको प्रयोग गरेर जनचेतना फैलाइएकाले किसानहरू आफ्ना कुखुरा व्यवसायलाई बचाई राख्न थप जिम्मेवार र सजग बन्नुपर्ने धारणा राखे । 

विभागले फार्ममा नियमित निसङ्क्रमण गर्ने, अपरिचित व्यक्ति वा गाडीलाई फार्ममा प्रवेश नदिने र कुखुरामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ ।

सरकारले नियन्त्रणका सम्पूर्ण उपायहरू तदारुकताका साथ अगाडि बढाएकाले सही सूचनाको पालना गर्दै उपभोक्तालाई स्वस्थ उत्पादन बजारमा पु¥याउन विभागले अपिल गरेको छ ।

View : 4

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved