विराटनगर । रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि विराटनगर जेसीजले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।
विराटनगर जेसीजले आफ्ना सदस्य, पूर्वअध्यक्ष तथा बोर्ड पदाधिकारीहरूबाट प्राप्त सहयोग रकम संकलन गरी बाढीपीडितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। संकलित रकम नेपाल जेसीजमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको पीडामा साथ दिनु सबैको साझा दायित्व भएको बताए। उनले जेसीज सदैव मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै रसुवा र भोटेकोसीका बाढीपीडितका लागि गरिएको यो सहयोगले राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले सहयोग रकम संकलन अभियानमा साथ दिने विराटनगर जेसीजका सम्पूर्ण सदस्य, पूर्वअध्यक्ष तथा बोर्ड पदाधिकारीहरूप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गरेका छन्। सबैको सामूहिक सहयोग र मानवीय भावनाका कारण बाढीपीडितका लागि सहयोग जुटाउन सम्भव भएको उनको भनाइ छ।
रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेका बेला विराटनगर जेसीजले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग अभियानमा सहभागिता जनाएको हो।
विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विराटनगर जेसीजले आगामी दिनमा समेत मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
View : 28
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved