Biratnagar, Morang, Nepal
खेलकुद

प्राथमिक उपचार तालीम

खेलमैदानमा प्रतिस्पर्धासँगै स्वास्थ्य सचेतना, विराट स्पोर्ट्स जोनमा नोबेल मेडिकल कलेजको विशेष प्रशिक्षण सम्पन्न।

-
अखवारका कुरा
१८ जेठ २०८३, सोमवार

Advertisement

विराटनगर : खेलाडीको क्षमता विकास केवल मैदानभित्रको अभ्यासमा मात्र सीमित नहुने सन्देशसहित विराट स्पोर्ट्स जोनले नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आपत्कालीन प्राथमिक उपचार (इमर्जेन्सी फर्स्ट एड), स्वास्थ्य तथा पोषण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीलाई खेलका क्रममा हुन सक्ने आकस्मिक चोटपटकको व्यवस्थापन, प्राथमिक उपचारका आधारभूत विधि, स्वस्थ जीवनशैली तथा सन्तुलित आहारको महत्वबारे जानकारी प्रदान गरिएको थियो। स्वास्थ्यकर्मीहरूले व्यावहारिक अभ्यासमार्फत आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानी र प्राथमिक उपचारका उपायबारे प्रशिक्षण दिएका थिए।

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्यसम्बन्धी ज्ञान र सचेतना पनि उत्तिकै आवश्यक हुने बताए। खेलाडीलाई सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।

“खेलाडीले मैदानमा प्रतिस्पर्धा जित्नुअघि आफ्नो स्वास्थ्य जोगाउन सिक्नुपर्छ। आकस्मिक अवस्थामा कसरी प्रतिक्रिया दिने, शरीरलाई आवश्यक पोषण कसरी पुर्‍याउने र स्वास्थ्यलाई कसरी प्राथमिकतामा राख्ने भन्ने विषय खेलकुदकै अभिन्न हिस्सा हुन्,” बजगाईंले भने।

उनले खेलाडीको समग्र विकासलाई केन्द्रमा राखेर भविष्यमा पनि स्वास्थ्य, पोषण र खेल विज्ञानसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

खेलकुद र स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले सहभागीमा स्वास्थ्यप्रति थप जागरूकता बढाएको आयोजकले जनाएको छ। खेलाडीको सुरक्षा, स्वस्थ जीवनशैली र उत्कृष्ट प्रदर्शनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

View : 58

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved