Biratnagar, Morang, Nepal
राजनीति

नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो

-
अखवारका कुरा
२१ माघ २०८२, बुधवार

Advertisement

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई गम्भीर चासोका साथ नियालिरहेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी दर्ता हुन नसकेको र स्थानीय परिस्थितिका आधारमा विभिन्न राजनीतिक दल तथा समूहसँग संवाद र सहमति प्रक्रिया जारी रहेको एमालेले जनाएको छ ।

एमालेले उक्त उम्मेदवारीलाई सबै प्रकारका षड्यन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारीका रूपमा व्याख्या गरेको छ । साथै विध्वंस, आगजनी र राज्य संरचना नष्ट गर्ने प्रवृत्तिविरुद्ध निर्माण र विकासको प्रतिबद्धता रहेको उल्लेख गरेको छ ।

प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले गैरजिम्मेवार र गैरराजनीतिक ढंगले प्रविधिको प्रयोग भइरहेकोप्रति आपत्ति जनाएको छ । विभिन्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन चिन्हका विषयमा भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग भइरहेको आरोप एमालेले लगाएको छ ।

एमालेको निर्वाचन चिन्ह परिवर्तनजस्ता भ्रामक प्रचार सामग्री निर्माण तथा प्रसारण गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग पार्टीले गरेको छ । साथै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी सामाजिक सञ्जालमा गरिएका गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिको एमालेले कडा शब्दमा निन्दा गरेको छ ।

एमालेले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा अझै सुनिश्चित हुन नसकेको दाबी गरेको छ । विज्ञप्तिमा भयरहित र निर्भिक रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भए पनि हालसम्म विश्वासिलो वातावरण बन्न नसकेको उल्लेख छ ।
देशका विभिन्न जेल तथा सुधार गृहबाट फरार कैदीबन्दी अझै पक्राउ नपरेको, अवैध हातहतियार बाहिरै रहेको, राजधानीमा संगठित चोरी तथा लुटपाट बढेको एमालेको भनाइ छ ।

निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन भइरहेको भन्दै एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, शान्ति सुरक्षा र सामाजिक सद्भावमा असर पर्ने गतिविधिमाथि निगरानी बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । अन्यथा यस्ता गतिविधिबाट उत्पन्न हुने अराजकता, हिंसा र विध्वंसको जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पार्टीले दिएको छ ।

View : 39

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved