विराटनगर । एसपीजी अटोमोबाइल्सले नयाँ विद्युतीय एसयूभी ‘ओमोडा ई–फाइभ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विराटनगरस्थित सिटी प्यालेसमा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गर्दै विशेष छुट योजनासमेत घोषणा गरेको हो ।
कम्पनीका अनुसार पहिलो ५० ग्राहकले उक्त गाडी ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । गाडीको नियमित मूल्य ५१ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ । साथै, खरिदकर्तालाई एक वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराइनेछ ।
नेपालमा यसअघि ओमोडा ई–फाइभका १ हजार ५ सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । सोही मोडलको थप परिष्कृत संस्करणका रूपमा ई–फाइभ प्रो बजारमा ल्याइएको हो ।
गाडीमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री, ९९ किलोवाटको मोटर तथा २८८ न्यूटन मिटर टर्क रहेको कम्पनीले जनाएको छ । पूर्ण चार्जमा करिब ३५० किलोमिटर दूरी पार गर्न सक्ने दाबी गरिएको गाडीमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका ह्वील जडान गरिएको छ ।
ई–फाइभ प्रोमा सनरुफ, ठूलो टचस्क्रिन डिस्प्ले, आरामदायी सिट तथा प्रिमियम इन्टेरियर सुविधा समावेश गरिएको छ । सुरक्षाका लागि १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहायता प्रणाली र ५४० डिग्री क्यामेरा प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले गाडीका विशेषता, प्रविधि, सुरक्षा प्रणाली तथा नेपाली बजारमा यसको सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा थिए । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उद्योगी भीम घिमिरे, शारडा ग्रुपका सञ्चालकलगायत उद्योग तथा व्यवसाय क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार ओमोडा ई–फाइभ प्रो अब देशभरका शोरूममार्फत बुकिङका लागि उपलब्ध हुनेछ ।
View : 20
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved