अत्यधिक हिउँ जमेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ ।
हिमपातले लिमी जाने सडक पनि अवरुद्ध
हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यका जाने सडकसमेत हिमपातका कारण अवरुद्ध भएको छ । सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको हो ।
नाम्खा गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेपछि लिमीका तिल, हल्जी र जाङलगायत गाउँको आवतजावत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि बाहिर लैजान तथा अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या भएको छ ।
सडकबाट आवतजावत गर्न नसक्ने अवस्था आएपछि बिरामीलाई उपचारका लागि बाहिर लैजानसमेत कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् ।
लिमी उपत्यका कैलाश–मानसरोवर क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मानसरोवरको दर्शन तथा हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकसमेत सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् ।
लिमी जाने सडक प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । हिमपात जारी रहे सडक सञ्चालनमा थप ढिलाइ हुने जोखिम छ ।
सिमकोट–हिल्सा सडक र लिमी जाने सडक दुवै अवरुद्ध हुँदा उत्तरी हुम्लाको आवतजावत, व्यापार तथा पर्यटन प्रभावित बनेको छ । मौसम अनुकूल हुनेबित्तिकै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिएको छ ।
View : 30
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved