Biratnagar, Morang, Nepal
साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

-
अखवारका कुरा
२३ वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर - भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएका दुई वरिष्ठ स्रष्टा विराटनगरमा सम्मानित भएका छन्। पूर्वाञ्चल साहित्य प्रतिष्ठानले बुधबार आयोजित समारोहमा ‘कवि टेकनाथ–शिवाकुमारी अधिकारी स्मृति साहित्य संस्कृति पुरस्कार’ समर्पण गर्दै महाकाव्यकार सोमराज अभय र अग्रज कवि प्रल्हाद पोखरेललाई जनही १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल तथा पुरस्कारका संस्थापक डिल्लीराम अधिकारी, भवानी अधिकारी र गोकुल अधिकारीले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।
संस्थापक अधिकारी परिवारले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको ५ लाख रुपैयाँको अक्षयकोषबाट हरेक वर्ष भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्दै आएको जनाएको छ।
कार्यक्रममा बोल्दै प्रा.डा. भण्डारीले पण्डित टेकनाथ अधिकारी नेपाली भाषा र संस्कृतिका प्रकाण्ड विद्वान रहेको उल्लेख गर्दै उनका नाममा स्थापित पुरस्कारले योग्य स्रष्टालाई सम्मान गर्दा यसको गरिमा अझ बढेको बताए।
साहित्यकार प्रा.डा. हरिहर भण्डारीले अभयको काव्ययात्रा नेपाली महाकाव्य परम्परामा महत्वपूर्ण रहेको बताए भने कवि भेषराज पोखरेलले प्रल्हाद पोखरेलको सिर्जनात्मक योगदान उल्लेखनीय रहेको धारणा राखे।
कार्यक्रममा अग्रज साहित्यकार खेम नेपाली, बलराम पोखरेल, गंगा सुवेदी, मीनकुमार नवोदित र निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले साहित्यिक गतिविधिको निरन्तरता र विकासका लागि निजी तथा संस्थागत सहकार्य आवश्यक रहेकोमा जोड दिए।
पछिल्लो समय निजी क्षेत्रको यस्ता पहलले साहित्यिक वातावरण सुदृढ बनाउन टेवा पुर्‍याइरहेको भन्दै प्रतिष्ठानले आगामी दिनमा पुरस्कारको दायरा विस्तार गर्दै युवा स्रष्टालाई समेत प्रोत्साहन गर्ने जनाएको छ।

View : 104

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved