Biratnagar, Morang, Nepal
शिक्षा

एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा ह्याकाथान सम्पन्न

-
अखवारका कुरा
१० माघ २०८२, शनिवार

Advertisement


विराटनगर : विराटनगरस्थित काठमाडौँ विश्वविद्यालयको साझेदारीमा सञ्चालित एस्पायर कलेजले शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग तथा दक्षिण कोरियाको अग्रणी एडटेक कम्पनी छन्जे एजुकेशनको प्राविधिक सहकार्यमा सञ्चालन गरेको छ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुईदिने ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ।

विराटनगरस्थित होटल स्वागतममा आयोजित औपचारिक समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गर्दै प्रथम स्थान हासिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको टोलीलाई हौसला तथा प्रेरणास्वरूप रु ५० हजार नगद पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ। त्यसैगरी द्वितीय स्थान प्राप्त गर्ने विनम पौडेल, दीक्षा राई र निकेश राजवंशीको टोलीलाई रु ३० हजार तथा तृतीय स्थान हासिल गर्ने सुशान्त नेपाल, कुशल कुवर र आयुष मेहताको टोलीलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा पुरुषतर्फ अनिश श्रेष्ठ र महिलातर्फ पुष्प कुमारी रायलाई ‘उत्कृष्ट राइजिङ स्टार’को सम्मान प्रदान गरिएको छ। बुटक्याम्प तथा ह्याकाथनमा सहभागी ३६ जना विद्यार्थीलाई प्रमाणपत्र तथा सम्मान समेत प्रदान गरिएको थियो।

कलेजकी शैक्षिक संयोजक प्रितिका बस्नेतका अनुसार छ हप्ते बुटक्याम्प अवधिमा विद्यार्थीहरूले कोडिङ वर्कफ्लो, इन्टरेक्टिभ लर्निङ सिस्टम, डिजाइन तथा डिजिटल कन्टेन्ट विकासमा व्यावहारिक अनुभव हासिल गरेका थिए। दुईदिने ह्याकाथनमा १२ टोलीले आफ्ना परियोजनाहरू प्रस्तुत गरेका थिए, जसको मूल्याङ्कन समस्या पहिचान, प्रविधिक कार्यान्वयन, प्रयोगकर्ता अनुभव, नवप्रवर्तन, टोली समन्वय तथा भविष्यमा विस्तार गर्न सकिने सम्भावनाका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट गरिएको थियो।

समापन समारोहमा बोल्दै छन्जे एजुकेशनका प्रमुख डा. किमले यस्ता कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय एडटेक अभ्याससँग जोड्दै आत्मविश्वास र सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। उनले आगामी दिनमा अन्तर्राष्ट्रिय इन्टर्नसिप तथा रोजगारीका अवसरमा समेत सहकार्य विस्तार गरिने बताए।

क्याम्पसका अध्यक्ष विकास अधिकारीले अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आगामी चरणमा थप बुटक्याम्प, प्रत्यक्ष परियोजना सहभागिता तथा दीर्घकालीन शैक्षिक सहकार्य विस्तार गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको एडटेक अभ्याससँग जोड्दै डिजिटल शिक्षण सामग्री विकासमा व्यावहारिक सीप प्रदान गर्नु तथा प्रविधि आधारित समाधान निर्माणतर्फ उत्प्रेरित गर्नु रहेको कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक राउतले बताए।

कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख सि.एम. बस्नेतले डिजिटल संसारसँग विद्यार्थीलाई जोडेर परिवर्तनको संवाहक बनाउने दिशामा यो कार्यक्रम महत्वपूर्ण सुरुवात भएको बताए। उनले शिक्षा, प्रविधि र समाजलाई जोड्ने उद्देश्यसहित यस्ता गतिविधि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

View : 59

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved