विराटनगर: बालबालिकामा दन्त स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगर जुनियर जेसीजले शुक्रबार विराटनगरस्थित श्री अरुणोदय आधारभूत विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ नारासहित आयोजित शिविरमा विद्यालयका विद्यार्थीहरूको दन्त परीक्षण, मुख तथा दाँतको स्वास्थ्य जाँच तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा वासुकी डेन्टल क्लिनिकका दन्त चिकित्सक तथा प्राविधिक टोलीले सेवा दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक जीवन कोइरालाले बालबालिकाको समग्र स्वास्थ्य विकासमा दन्त स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सानै उमेरदेखि सही दन्त सरसफाइको बानी बसाल्न आवश्यक रहेको बताए। विशेष अतिथि सहायक प्रधानाध्यापक दिल्लीराज फुयालले विद्यालयस्तरमा यस्ता स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमले विद्यार्थीमा सकारात्मक व्यवहार विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
शिविरका क्रममा विद्यार्थीलाई दाँत माझ्ने सही विधि, फ्लसको प्रयोग, मुखको सरसफाइ तथा सन्तुलित आहारले दन्त स्वास्थ्यमा पार्ने प्रभावबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो। साथै, प्रत्येक विद्यार्थीको व्यक्तिगत दन्त परीक्षण गरी आवश्यक स्वास्थ्य सुझावसमेत दिइएको आयोजकले जनाएको छ।
विराटनगर जुनियर जेसीजका अनुसार समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। बालबालिकालाई लक्षित यस्ता कार्यक्रमले स्वास्थ्यसम्बन्धी ज्ञान र व्यवहार सुधारमा दीर्घकालीन योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने श्री अरुणोदय आधारभूत विद्यालय परिवार, वासुकी डेन्टल क्लिनिकको चिकित्सक तथा प्राविधिक टोली र विराटनगर जुनियर जेसीजका सदस्यहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।
बालबालिकाको स्वस्थ मुस्कान, स्वस्थ जीवनशैली र उज्ज्वल भविष्य निर्माणमा केन्द्रित उक्त कार्यक्रमले समुदायमा दन्त स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।
View : 81
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved