पुर्वमा पुर्व राष्ट्रपति भण्डारी
विराटनगरमा पुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू कहिल्यै गुट राजनीतिमा नलागेको स्पष्ट पारिन्। उनले हालै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका अभिव्यक्तिबाट आफू लक्षित भएको हो कि भन्ने प्रश्नमा शंका नै नरहेको बताइन्। सञ्चारकर्मीहरूसँगको अनौपचारिक कुराकानीमा उनले भनिन्, “म गुट राजनीतिमा कहिल्यै लागिनँ। अहिले पनि मुख्यधारको राजनीतिमा छु। मलाई लाग्दैन ओलीज्यूले मलाई लक्षित गरेर केही भन्नुभएको हो। उहाँले कार्यकर्तालाई आश्वस्त पार्न भनेर भन्नुभएको हुन सक्छ।”
भण्डारी विराटनगरमा दुई कार्यक्रमका लागि आएकी थिइन्। एक, महिला जनप्रतिनिधिहरूको राष्ट्रिय सम्मेलन, र अर्को, हाईस्कुल तहका विद्यार्थीहरूको विज्ञान प्रदर्शनी। विज्ञानप्रति रुचि भएकै कारण आफूले निमन्त्रणा स्विकार गरेको उनले बताइन्। “यो त आईटीको युग हो,” उनले भनिन्, “राम्रो कुराको प्रचारप्रसार हुँदा सबै खुसी हुन्छौं।”
राजनीतिमा फेरि सक्रिय हुने वा नहुने भन्ने प्रश्नमा उनले राजनीतिक नाता कहिल्यै टुट्दैन भनेर जवाफ दिइन्। “म एमालेको प्रस्तावमा राष्ट्रपति बनेकी हुँ,” उनले भनिन्, “म सधैं बामपन्थी विचारबाट प्रभावित छु। राष्ट्रपती निर्वाचनमा कांग्रेसले मलाई समर्थन गरेन, माओवादी केन्द्रले गर्यो। तर म विचार र पार्टी फेर्ने स्वभावकी होइन। जहाँ हुर्किएँ, त्यही विचारमा आज पनि छु।”
उनले अबको दिनमा पनि राष्ट्रका लागि काम गर्न तयार रहेको जनाइन्। “राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोबाट म अलग छैन,” उनले भनिन्, “जुनसुकै भूमिकाबाट भए पनि म देशका लागि योगदान दिन तयार छु।” एमालेभित्रको गुटबन्दीको चर्चा भइरहेका बेला उनले फेरि दोहोर्याइन् — “म त गुट नगर्ने मान्छे हो। अध्यक्षले मलाई लक्षित गरेर हैन, कार्यकर्तालाई सन्देश दिनका लागि भन्नुभएको हुन सक्छ।”
View : 106
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved