Biratnagar, Morang, Nepal
सामाजिक सेवा

वातावरण जोगाउने दुई संस्थालाई विराटनगर महानगरको सम्मान

-
अखवारका कुरा
२२ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर – विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर महानगरपालिकाले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा सक्रिय दुई संस्थालाई सम्मान गरेको छ।
शुक्रबार महानगर परिसरमा आयोजित कार्यक्रममा गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई सम्मानपत्रसहित सम्मान गरिएको हो। वातावरण संरक्षण, वृक्षारोपण र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न पुर्‍याएको योगदानको कदर गर्दै महानगरले उनीहरूलाई सम्मान गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा महानगरका मेयर नागेश कोइरालाले सम्मानित व्यक्तिलाई खादा, माला र सम्मानपत्र प्रदान गर्दै वातावरणीय अभियानमा युवाहरूको सक्रियता प्रेरणादायी रहेको बताए। उनले बढ्दो तापक्रम, प्रदूषण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।
‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’ मेयर कोइरालाले भने, ‘आज रोपिएको बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा र सुरक्षित भविष्य दिन्छ।’
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई स्वच्छ, व्यवस्थित र हरित सहरका रूपमा विकास गर्न नागरिक, सामाजिक संस्था र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए। वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले महानगरले वातावरण संरक्षण र हरियाली विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
यसअघि वातावरण दिवसको अवसरमा महेन्द्रचोकबाट प्रभातफेरी निकालिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्था, युवा समूह तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए।
महानगरले आगामी दिनमा पनि वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण तथा दिगो शहरी विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

View : 147

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved