विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। मोरङ जिल्ला पार्टी कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुने निर्वाचनमा युवा नेता कृष्णबहादुर कार्की सभापति पदका लागि प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लिएर महानगर कांग्रेसभित्र चुनावी सरगर्मी बढेको छ भने कार्कीको उम्मेदवारी आम नेता तथा कार्यकर्ताबीच चर्चाको विषय बनेको छ।
निर्वाचन अधिकृत विकास थापाका अनुसार मतदान बिहान ९ बजेदेखि मोरङ जिल्ला पार्टी कार्यालयमा हुनेछ। महानगरका विभिन्न वडाबाट आएका प्रतिनिधिहरूले मतदानमार्फत सभापतिसहित नयाँ कार्यसमिति चयन गर्नेछन्।
युवा नेता कार्कीले संगठनलाई थप सुदृढ र चलायमान बनाउने, कार्यकर्तालाई पार्टी गतिविधिमा सक्रिय रूपमा जोड्ने तथा युवा पुस्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राख्दै सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा सभापति पदका उम्मेदवारहरू प्रतिनिधिसँग भेटघाट तथा छलफलमा व्यस्त छन्। आफ्नो पक्षमा समर्थन जुटाउन उम्मेदवारहरूले सक्रियता बढाएसँगै महानगर कांग्रेसभित्र चुनावी माहोल थप तातेको छ।सभापतिको दौडमा कार्की सहित युवा नेता केशव गिरि प्रतिस्पर्धामा छन ।
विराटनगर महानगर कांग्रेसको नेतृत्वका लागि हुने निर्वाचनलाई आगामी दिनमा पार्टीको संगठनात्मक गतिविधि र कार्यकर्ता परिचालनको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। आजको मतदानपछि महानगर कांग्रेसले नयाँ नेतृत्व पाउनेछ।
View : 55
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved