पार्टीभित्रका कमजोरीमाथि प्रश्न उठाउनु पनि संगठनको जिम्मेवारी हो।
जापानमा रहेका कांग्रेसजनले आफैँलाई प्रश्न गर्नुपर्छ—हामी पार्टीको विचार र इतिहास नयाँ पुस्तासम्म पु¥याइरहेका छौँ कि नेताको नाममा सामाजिक सञ्जालमा विभाजित भइरहेका छौँ ? प्रवासमा संगठन बलियो हुनु भनेको कुनै एक पक्षको भीड बढ्नु होइन ः विचार, अनुशासन, संवाद र साझा उद्देश्य बलियो हुनु हो।
प्रवासमा नेपाली पत्रकारिता गर्नु सहज छैन। सीमित स्रोत, सानो समुदाय, व्यक्तिगत सम्बन्ध र राजनीतिक निकटताबीच तथ्यमा आधारित समाचार प्रस्तुत गर्नु चुनौतीपूर्ण काम हो। पत्रकार पनि यही समाजको सदस्य हो। उसको आफ्नै राजनीतिक विचार, आस्था र सम्बन्ध हुन सक्छन्। तर समाचार लेख्दा व्यक्तिगत आस्थाभन्दा तथ्य, प्रमाण र सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्छ।
पत्रकारको काम कुनै नेता वा समूहको पक्षमा जनमत निर्माण गर्नु होइन। एक पक्षको भनाइलाई मात्र आधार बनाउनु, अर्को पक्षको प्रतिक्रिया नलिनु वा व्यक्तिगत सम्बन्धका कारण समाचारको भाषा बदल्नु पत्रकारिताको विश्वसनीयताका लागि घातक हुन्छ।
राजनीतिक आस्था राख्नु र पत्रकारिता गर्नु आफैँमा विरोधाभास होइन। तर व्यक्तिगत विचार र समाचारको तथ्यबीच स्पष्ट सीमा हुनुपर्छ। विचार लेखमा आफ्नो दृष्टिकोण राख्न सकिन्छ, तर समाचारमा प्रमाणित तथ्य, सम्बन्धित पक्षको प्रतिक्रिया र पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने आधार प्रस्तुत गर्नुपर्छ।
जापानबाट नेपाली पत्रकारिता गर्ने हामीले अझ बढी जिम्मेवारी महसुस गर्नुपर्छ। यहाँ प्रकाशित एउटा समाचारले जापानमा रहेका नेपालीलाई मात्र होइन, नेपालमा रहेका परिवार, राजनीतिक नेतृत्व र सम्बन्धित संस्थालाई समेत प्रभाव पार्न सक्छ। त्यसैले छिटो समाचार दिने प्रतिस्पर्धाभन्दा सही र विश्वसनीय समाचार दिने प्रतिबद्धता महत्त्वपूर्ण हुन्छ।
नेपाली कांग्रेसको वर्तमान विवाद प्रवासमा रहेका कांग्रेसजनका लागि पनि आत्मसमीक्षाको अवसर हो। आन्तरिक लोकतन्त्र, विधानको पालना, नेतृत्व हस्तान्तरण र संगठनात्मक एकताका विषयमा प्रवासका संगठनले पनि आफ्नो भूमिका बुझ्न आवश्यक छ। असहमति राख्नेहरूलाई शत्रु ठान्ने होइन, फरक विचारलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ। नेतृत्वले आलोचना सुन्न सक्नुपर्छ र कार्यकर्ताले निर्भय भएर आफ्नो विचार राख्न पाउनुपर्छ।
अन्ततः कांग्रेसको आजको बहस कुनै एक नेताको पक्ष वा अर्को नेताको विपक्षमा उभिने विषयमा मात्र सीमित हुनु हुँदैन। पार्टीले आफ्नो इतिहासबाट के सिक्छ, लोकतान्त्रिक मूल्यलाई व्यवहारमा कसरी उतार्छ र जनताको विश्वास कसरी कायम गर्छ भन्ने प्रश्न बढी महत्त्वपूर्ण छन्।
प्रवासमा बसेर नेताको नाममा विभाजित हुनुभन्दा पार्टीको विचार, इतिहास र लोकतान्त्रिक संस्कारमाथि बहस गरौँ। राजनीतिक आस्था व्यक्तिगत अधिकार हो, तर पत्रकारिताको विश्वसनीयता तथ्य र निष्पक्षतामा निर्भर हुन्छ।
नेता समयसँगै परिवर्तन हुन्छन्, नेतृत्व फेरिन्छस तर पार्टीको विचार, इतिहास र लोकतान्त्रिक मूल्य नै त्यसको वास्तविक पहिचान हुन्। कांग्रेसजनले आज यही पहिचानलाई कति आत्मसात् गर्न सकेका छन् प्रश्न यही हो।
View : 56
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved