Biratnagar, Morang, Nepal
देश

महाभारत युद्धकालीन भीमसेनको गदा रहेको विश्वास गरिने रज गाउँको भीमसेन मन्दिरको भएन संरक्षण

-
अखवारका कुरा
१२ जेठ २०८३, मङ्गलवार

Advertisement

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँमा महाभारत युद्धकालीन भीमसेनको गदा रहेको जनविश्वास छ ।

रज गाउँको भीमसेन मन्दिरमा रहेको गदालाई स्थानीय महाभारतकालीन भीमसेनको गदाको अवशेष ठान्ने गर्दछन् । दर्शन गर्न जानेहरू यो गदा बोकेर मन्दिरको तीन फन्को मार्ने गर्छन् । दम र पेटका रोगकाका बिरामीले यो गदा बोकेर सास नफेरी तीन पटक मन्दिरको फेरो मार्दा निको हुने जनविश्वास छ ।

भीमसेन मन्दिरमा रहेका दुइटा गदाका अवशेष मध्ये एउटा सानो छ, जुन मन्दिर भित्र त्रिशूल सँगै गाडिएको छ । अर्को ठुलो गदा भाँचिएको टुक्रा सहित मन्दिरको कुनामा ठड्याइएको छ । त्यसलाई दर्शनार्थीहरु पूजा गर्ने र बोकेर घुम्ने गर्दछन् ।
स्थानीय बुढापाका अनुसार मन्दिरमा अर्को एउटा ठुलो गदा पनि थियो । तर २०४१ साल तिर एक जना मानसिक सन्तुलन गुमाएका मानिसले सो गदा तामाकोसी नदीमा मिल्काइदिए ।

किंवदन्ती अनुसार माझी बस्तीको सिरानमा रहेको रज गाउँमा कुनै समय राजा बस्दथे । सो स्थानमा रहेको इँटा तथा रज गाउँमा पानी ल्याउन बनाएको कुलोलाई निक्कै पुरानो मानिन्छ । त्यहाँको इँटा लिच्छवि काल तिरको भएका अनुसन्धानले पुष्टि गरिसकेको छ ।
राजा गाउँ भन्दा वारी पट्टी मन्थली नगरपालिका–६ मा हातिटार भन्ने गाउँ छ । राजा पारी बस्ने र वारी राजाका हात्ती बाँध्ने भएकोले सो गाउँको नाम हातिटार रहेको भनाई छ ।

रजगाउँमामा गोल्मा राजाहरूले राज्य गरेको भनाइ छ । तर यहाँको पुरातात्त्विक ऐतिहासिकताको विस्तृत खोज र अध्ययन भने हुन सकेको छैन । मन्दिर र गदाको संरक्षण नहुँदा भएको गदा पनि हराउने डर बढेको छ ।

View : 44

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved