काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘पार्टी जागरण अभियान’ सुरु गरेको छ। अभियानलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका–केन्द्रित जिम्मेवारी तोकिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–२ मार्फत अभियानको घोषणा गरेका हुन्। जेठ ४ देखि १० गतेसम्म बसेको केन्द्रीय सचिवालय बैठकका निर्णय मातहतका कमिटीसम्म पुर्याउने तथा संगठनलाई चलायमान बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ।
निर्णयअनुसार केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागीय जिम्मेवारीसँगै पालिका–केन्द्रित जिम्मेवारीसमेत दिइएको छ। केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई पनि अभियानमा परिचालन गरिने भएको छ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवले संगठनात्मक कार्यको संयोजन तथा केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ।
एमाले सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख तथा भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी प्रदेश इन्चार्ज, यमलाल कँडेललाई कर्णाली प्रदेश इन्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
एमालेका एक सचिवका अनुसार अधिकांश केन्द्रीय सदस्यलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाभित्रका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ। आवश्यकताअनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिइएको छ।
निर्वाचनपछि केही सुस्त बनेका पार्टी कमिटी तथा संगठनात्मक गतिविधिलाई पुनः सक्रिय बनाउने अपेक्षासहित एमालेले देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
यसैबीच, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्य तथा प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिइएको छ।
View : 20
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved