Biratnagar, Morang, Nepal
प्रदेश

विपन्नलाई १०% छुट नदिने अस्पतालमाथि कारबाही हुन्छ : कोशी प्रदेश स्वास्थ्य मन्त्री लिम्बु

-
अखवारका कुरा
१६ माघ २०८२, शुक्रवार

Advertisement

कोशी प्रदेशका दुर्गम पहाडी क्षेत्रदेखि जिल्ला अस्पतालसम्म जनतालाई विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले सरकारी र निजी अस्पतालबीच सहकार्यको ढाँचा अघि सारेको छ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रादेशिक जिल्ला अस्पताल तथा निजी अस्पताल समन्वय कार्यक्रममार्फत प्रदेशभरका जिल्ला अस्पतालको सेवा अवस्था, आवश्यकता र चुनौतीबारे समिक्षा गरिएको हो।

कार्यक्रममा सबै जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) हरुले आ-आफ्नो अस्पतालको हालसम्मको प्रगति, सेवा विस्तारका योजना, जनशक्ति अभाव, उपकरणको कमी तथा भौगोलिक चुनौतीबारे मन्त्रालयसमक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए।

निजी अस्पतालका प्रतिनिधिहरुले प्रदेश सरकारको सहजीकरणमा सरकारी अस्पतालसँग सहकार्य गर्दै प्रदेशका नागरिकलाई थप विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका छन्।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले निजी अस्पतालहरूलाई नेपाल सरकारको व्यवस्था अनुसार गरिब, निमुखा तथा विपन्न वर्गका बिरामीका लागि कम्तीमा १० प्रतिशत छुटसहित उपचार तथा बेड उपलब्ध गराउन निर्देशन दिनुभयो।

“सरकारी निर्णय कार्यान्वयन नभए अनुगमनका क्रममा कारबाही हुन्छ,” मन्त्री लिम्बुले स्पष्ट पार्नुभयो।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी र निजी क्षेत्रको समन्वयबाट दुर्गम तथा पिछडिएका क्षेत्रसम्म विशेषज्ञ सेवा विस्तार गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउने लक्ष्य लिइएको छ।

View : 148

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved