Biratnagar, Morang, Nepal
देश

सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’

-
अखवारका कुरा
१० असार २०८३, बुधवार

Advertisement

काठमाडौं । नमो बुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ । नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागू पदार्थको दुव्र्यसनी, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ । सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने उक्त नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

नमो बुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार नाटक असार ११ र १२ गते नगरका दुई विद्यालयहरूमा प्रदर्शन गरिनेछ । असार ११ गते नमो बुद्ध नगरपालिका वडा नं। ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे र असार १२ गते नमो बुद्ध नगरपालिका वडा नं। ९, दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ः०० बजे उक्त सडक नाटक प्रदर्शन हुनेछन् । 

शाखा प्रमुख सुनुवारले नाटक प्रदर्शनमा उपस्थित भई सचेतना अभियानलाई सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूलाई हार्दिक अनुरोध समेत गरेका छन् ।

आदि इत्यादिको प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गर्नुभएको हो । नाटकमा प्रमुख कलाकारहरू वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, चर्चित कलाकार खुपीका बाउका रूपमा परिचित कमलमणि नेपाल, गौरीका रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अन्जु खड्काको अभिनय रहेको छ ।

 

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved