विराटनगर - नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने तालिम ‘लिडरशिप ल्याब २०२६’ सम्पन्न भएको छ। मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा करिब ५० जना युवाको सहभागिता रहेको थियो।
लियो क्लब अफ विराटनगर सेन्ट्रल, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा र लियो क्लब अफ विराटनगर सेन्ट्रल सताब्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन इन्द्र खत्री (राजन), पीएमजेएफ सेकेन्ड सेन्चुरी एम्बेसडरको उपस्थिति रहेको थियो।
उक्त अवसरमा बोल्दै खत्रीले नेतृत्व केवल पद वा अधिकारमा सीमित नहुने उल्लेख गर्दै व्यवहार, जिम्मेवारी र सेवामूलक सोचमार्फत असल नेतृत्व विकास गर्नुपर्ने बताए। उनले युवाहरूलाई समाजप्रति उत्तरदायी बन्दै नेतृत्व क्षमताको सकारात्मक प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा अतिथि वक्ता लायन प्रा. डा. सन्देश दास श्रेष्ठले नेतृत्व विकासको आवश्यकता र यसको समसामयिक सान्दर्भिकताबारे धारणा राखेका थिए। प्रमुख प्रशिक्षक लायन सन्दीप दास श्रेष्ठ तथा प्रशिक्षक लियो लायन शंकर मण्डलले सहभागीहरूलाई नेतृत्व विकास, टोली निर्माण, प्रभावकारी सञ्चार तथा व्यक्तिगत क्षमता अभिवृद्धिसम्बन्धी विषयमा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणका क्रममा व्यवहारिक अभ्यास, समूहगत क्रियाकलाप तथा अनुभव आदानप्रदानलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ। कार्यक्रमको समन्वय लियो पवन काफ्ले, अध्यक्ष, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले गरेका थिए।
युवा पुस्तामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वप्रति अभिप्रेरित गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।
View : 108
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved