Biratnagar, Morang, Nepal
खेलकुद

गो–कार्ट किड्स च्याम्पियनसिप : अनुभव र सौर्य बने च्याम्पियन

-
अखवारका कुरा
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर : बालबालिकामा रहेको प्रतिभा उजागर गर्दै मोटरस्पोर्ट्सप्रति आकर्षण बढाउने उद्देश्यले विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा आयोजित ‘गो–कार्ट किड्स च्याम्पियनसिप–२०२६’ सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर र सिनियर दुई विधामा बालबालिकाबीच प्रतिस्पर्धा गराइएको थियो।

जुनियरतर्फ अनुभव खनालले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनको उपाधि जिते। सिनियरतर्फ सौर्य सिग्देल प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बने। दुवै विधामा सहभागी बालबालिकाबीच रोमाञ्चक र प्रतिस्पर्धात्मक दौड भएको आयोजकले जनाएको छ।

‘भाइरल इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ र ‘द विज्ञापन’को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा विराट स्पोर्ट्स जोन भेन्यू पार्टनरका रूपमा रहेको थियो। प्रतियोगितामा उल्लेख्य संख्यामा अभिभावक, खेलप्रेमी तथा बालबालिकाको सहभागिता रहेको थियो।

समापन समारोहमा विजेता तथा सहभागीलाई विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरे। पुरस्कार वितरणपछि बोल्दै अध्यक्ष बजगाईंले बालबालिकाको प्रतिभा पहिचान र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए।

‘खेल केवल मनोरञ्जन मात्र होइन, बालबालिकाको व्यक्तित्व विकासको महत्वपूर्ण माध्यम पनि हो,’ उनले भने, ‘विराट स्पोर्ट्स जोनले आगामी दिनमा पनि बालबालिकालाई लक्षित गर्दै यस्ता नवीन, सुरक्षित र रोमाञ्चक खेलकुद कार्यक्रमलाई निरन्तरता दिनेछ।’

आयोजकका अनुसार प्रतियोगिताले बालबालिकालाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै गो–कार्टिङजस्ता साहसिक खेलप्रति उनीहरूको रुचि बढाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ।

View : 30

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved