डाक्टर बालकृष्ण साहको कृति
विराटनगर, वैशाख १४ –
जीवनको आरम्भिक यात्रालाई वैज्ञानिक संवेदना र मानवीय अनुभूतिसँग सँगालेर प्रस्तुत गरिएको पुस्तक ‘गर्भको गर्व’ को दोस्रो संस्करण आज विराटनगरस्थित एलिट क्लबको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो।
नेपाल मेडिकल एसोसिएसन, कोशी अध्यक्ष डा. राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा
उनले भने
"स्वास्थ्य, जीवन र संवेदनशीलताको समन्वय बोकेको यस्तो सृजनात्मक गैर–आख्यान हाम्रो स्वास्थ्य साहित्यमा महत्वपूर्ण योगदान हो।"
पुस्तकका सर्जक डा. बालकृष्ण साहले पुस्तक सृजनाको उद्देश्य स्पष्ट पार्दै भावनाले ओतप्रोत शब्दहरू व्यक्त गरे । "जीवनको पहिलो बासस्थान, गर्भ, र आमाको अपार माया — यी सबैलाई वैज्ञानिक सत्यसँग जोडेर सरल भाषामा प्रस्तुत गर्ने मेरो प्रयास हो।"
पुस्तकमाथि विश्लेषण गर्दै नेफा कोशी प्रदेश उपाध्यक्ष सूर्य नारायण चौधरीले भने "गर्भको गर्व जीवन र चेतनाको जरा हो। स्वास्थ्यजस्तो गम्भीर विषयलाई यसरी संवेदनात्मक ढंगमा प्रस्तुत गर्नु लेखकको गहिरो अनुभूति र कलात्मक क्षमता दर्शाउँछ।"
प्रदेश प्रयोगशाला निर्देशक प्रकाश कार्कीले पुस्तकलाई स्वास्थ्य र मानवताको सृजनात्मक सेतुको संज्ञा दिदै भने "वैज्ञानिक तथ्य र मानवीय संवेदनालाई एकै मञ्जरीमा राखेर सजाउने अद्भुत प्रयास हो 'गर्भको गर्व' दोस्रो संस्करण अझ प्रगाढ र परिस्कृत भइसकेको महसुस भएको छ ।"
कार्यक्रममा शुभकामना मन्तव्य दिदै एलिट क्लबका महासचिव यज्ञ शर्मा, पूर्व महासचिव दिनेश श्रेष्ठ, सूर्य ज्योति लाइफ विराटनगर शाखा प्रबन्धक कविराज दाहाल र नेशनल लाइफ इन्स्योरेन्स विराटनगर शाखाका प्रबन्धक डम्बर बहादुर वादीले लेखक डा. साहको समर्पण र सिर्जनशीलताको खुलेर प्रशंसा गरे ।
उनीहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई कलात्मक अभिव्यक्तिमा रूपान्तरण गर्नु प्रेरणादायी रहेको विचार ब्यक्त गरे ।
विशिष्ट अतिथिहरूले संयुक्त रूपमा ‘गर्भको गर्व’ को आवरण लोकार्पण गर्दा, हल ताली र उत्साहले भरिएको थियो।पुस्तकको विमोचनसँगै उपस्थित हर मनमा स्वास्थ्यप्रतिको जिम्मेवारी र जीवनप्रतिको सम्मान गहिरिएको अनुभूति गरिएको थियो।
कार्यक्रमको सञ्चालन अभिषेक भट्टराईले संयोजित र ऊर्जावान शैलीमा गरेका थिए ।
कार्यक्रम स्थलबाटै करिव १०० प्रति पुस्तक बिक्रि हुनुले पनि पुस्तकको लोकप्रियता झल्काउथ्यो ।
कार्यक्रमको अन्त्यतिर सबै सहभागीहरूलाई अर्को मीठो आश्चर्य पर्खिरहेको थियो । जुन थियो, डा. बालकृष्ण साहको जन्मदिन। केक काट्दै सहृदयताका साथ जन्मदिनको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
View : 184
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved