विराटनगर - सनातन धर्मको संरक्षण, संवर्द्धन र धार्मिक जागरणलाई केन्द्रमा राख्दै विराटनगरमा पहिलोपटक ‘भजन जामिङ’ कार्यक्रम आयोजना हुने भएको छ। ह्यासट्याग इभेन्ट र विश्व हिन्दु परिषद् नेपाल को संयुक्त आयोजनामा हुने कार्यक्रमबाट बालसंस्कार केन्द्र सञ्चालनका लागि आर्थिक सहयोग जुटाइने जनाइएको छ।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले पछिल्लो समय युवापुस्तामा बढ्दो क्लब संस्कृति, विकृत मनोरञ्जन र नशाजन्य प्रवृत्तिलाई सकारात्मक दिशातर्फ मोड्न धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ।
ह्यासट्याग इभेन्टका अध्यक्ष कौशल अग्रवालले भजनलाई केवल धार्मिक प्रस्तुति नभई समाजलाई सही दिशा दिने सांस्कृतिक अभियानका रूपमा अघि बढाइएको बताए। उनले युवाहरूलाई सनातन संस्कृतिसँग जोड्दै धार्मिक चेतना र नैतिक मूल्यको विकासमा कार्यक्रमले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार कार्यक्रम आगामी जेठ ३० गते शनिबार साँझ ६ बजे विराटनगरस्थित जैन भवनमा आयोजना हुनेछ। कार्यक्रममा भारतका चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह ले विशेष प्रस्तुति दिनेछन्। टिकट शुल्क ३ सय रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका सल्लाहकार नवलप्रसाद उपाध्यायले धार्मिक र सांस्कृतिक पहिचानको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले भजन तथा आध्यात्मिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने धारणा राखे।
आयोजकका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित रहने छैन। भजन, आध्यात्मिक चेतना र सामाजिक उत्तरदायित्वलाई एकै मञ्चमा जोड्दै प्राप्त सहयोग बालबालिकाको संस्कार निर्माणसँग सम्बन्धित गतिविधिमा उपयोग गरिनेछ।
विराटनगरमा पहिलोपटक हुन लागेको ‘भजन जामिङ’ले धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा आयोजकको छ।
View : 54
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved