कोशी एक्सिलेन्स अवार्ड
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा पत्रकारिता विधातर्फको अर्वाड अखण्ड भण्डारीलाई प्रदान गरीएको छ ।
नयन मिडिया फाउन्डेसनले आयोजना गरेको कोशी एक्सिलेन्स अवार्ड २०२६ वितरण समारोहका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पत्रकारिता विद्याको अवार्ड भण्डारीलाई प्रदान गरेका हुन्।
सन् १९९० को दशकदेखि सक्रिय पत्रकारिता यात्रामा रहेका भण्डारीले पत्रकारिकता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याँकन गर्दै कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिएको आयोजक नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले कोशी प्रदेशमा जन्मिएका वा कोशी प्रदेशलाई कमथलो बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्पूर्ण योगदान पुर्याएका सम्मान गर्न लायक व्यक्तित्वहरुलाई अवार्ड प्रदान गर्ने गरी गत वर्ष देखि कोशी एक्सिलेन्स अवार्ड वितरण गर्न थालिएको समेत बताए ।
पत्रकारिता विद्यामा अवार्ड प्राप्त गर्ने भण्डारीले विभिन्न पत्रपत्रिकामा काम गर्दै नेपाली पत्रकारिताका सबै आयाममा योगदान दिएका छन्। लामो समय सम्म कान्तिपुर दैनिकमा आबद्ध रहँदै समाचार डेस्क नेतृत्वदेखि क्रियटिभ सम्पादकसम्मको जिम्मेवारी सम्हालेका उनले कतार संस्करणको नेतृत्व गरेपछि अन्नपूर्ण मिडिया नेटवर्कमा सम्पादक हुँदै प्रधान सम्पादकका रूपमा सात वर्ष काम गरेका थिए। हाल उनी गोरखापत्र संस्थानका अध्यक्षका रूपमा कार्यरत छन्।
अन्नपूर्ण पोस्टमार्फत कभर स्टोरीको अभ्यासलाई स्थापित गर्दै उनले खोजमूलक र गहिरो पत्रकारिताको अभ्यासलाई सुदृढ बनाएका छन्। ‘भ्वाइस अफ दि भ्वाइसलेस’ स्तम्भमार्फत उनले समाजका आवाजविहीन वर्गको प्रतिनिधित्व गर्दै पत्रकारितालाई जनताको आवाज बनाउने अभियान अघि बढाएका छन्। उनको सम्पादन दृष्टि लोकप्रियताभन्दा विश्वसनीयता, हतारभन्दा गहिराइ र सनसनीभन्दा सत्यमा केन्द्रित रहेको मानिन्छ।
पत्रकारितासँगै साहित्य क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान छ। ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ जस्ता उपन्यासमार्फत उनले समाजका गहिरा यथार्थलाई उजागर गरेका छन्। यी कृतिहरूका लागि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन्। ‘समाचारको भाषा’ नामक गैरआख्यानात्मक कृतिमार्फत नेपाली पत्रकारिताको भाषिक शुद्धता र प्रभावकारितामा समेत उनले महत्वपूर्ण हस्तक्षेप गरेका छन्। समकालीन पत्रकारिता, साहित्य र बौद्धिक संघर्षको नामका रूपमा परिचित भण्डारीको जन्म २ माघ २०३१ सालमा भोजपुर जिल्लामा भएको हो। बुबा कुल प्रसाद भण्डारी र आमा गंगाकुमारीको कोखबाट जन्मिएका उनले बाल्यकाल अभाव, कठिनाइ र सीमित अवसरबीच बिताएका हुन्।
मेची क्याम्पस, झापाबाट आईए पूरा गरेका उनले महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक तह अध्ययन गरेपछि काठमाडौँ पुगेर पत्रकारितामा स्नातकोत्तरदेखि एमफिलसम्मको अध्ययन पूरा गरेका छन्। हाल उनी थाइल्यान्डस्थित प्रिन्स अफ सोङ्क्ला विश्वविद्यालयबाट वातावरणीय विज्ञान र दिगो व्यवस्थापन विषयमा विद्यावारिधि अध्ययनरत छन्।
संयुक्त राष्ट्रसंघका उच्चस्तरीय सम्मेलनदेखि विभिन्न अन्तर्राष्ट्रिय मञ्चसम्म भण्डारीले सक्रिय उपस्थिति जनाएका छन्। कोशी एक्सिलेन्स अवार्ड २०२६ समारोह सुनसरीको इटहरीमा रहेको होटल सोल्टी वेस्टेन्डमा आयोजना गरिएको छ ।
View : 23
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved