Biratnagar, Morang, Nepal
देश

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

२ असोज २०८३, शुक्रवार

Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।

 

महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।

 

सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत पत्रपत्रिकाले प्राप्त गर्ने विज्ञापनबापतको रकममा भारी कटौती गरिएको भन्दै महासंघले विरोध जनाउँदै आएको छ ।

 

महासंघले उक्त कार्यविधि खारेज गर्न यसअघि सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग राखेको थियो । समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई समेत पत्राचार गरेको महासंघले जनाएको छ ।

 

महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेरुजु नदेखाएको र प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धिका सम्बन्धमा गरेको सिफारिसका आधारमा समस्या समाधान गर्न महासंघले शुक्रबार पुनः मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने अपेक्षा गरेको जनाएको छ । माग पूरा नभए पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा सहभागी हुन मातहतका समिति तथा सरोकारवालालाई महासंघले आह्वान गरेको छ ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved