Biratnagar, Morang, Nepal
स्थानीय तह

प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध

-
अखवारका कुरा
२३ भदौ २०८३, मङ्गलवार

Advertisement

 

विराटनगर । नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा मंगलबार सम्पन्न युनियनको १२औँ अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला तथा महिला उपाध्यक्षमा उषा सरदार चयन भएका छन् । सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा पुरुषोत्तम कट्टेल (सरस), सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, समय घिमिरे र भोजराज घिमिरे चयन भएका छन् ।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका अग्रज तथा क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार शंकर खरेल र ‘शैलजा आचार्य पत्रकारिता पुरस्कार’ ब्रह्मदेव यादवलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ भोजराज बस्नेत र तारा आचार्यलाई प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै लोकतन्त्रको रक्षा र नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रेस युनियनले प्रभावकारी पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले आगामी वर्षदेखि आफ्ना बुवाआमाको नाममा एक जना पत्रकारलाई सम्मान गर्ने घोषणा पनि गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले श्रमजीवी पत्रकारको हकहितका लागि युनियन निरन्तर सक्रिय रहने बताए । नवनिर्वाचित अध्यक्ष बस्नेतले सबैलाई समेटेर मोरङको पत्रकारिता र प्रेस युनियनको साखलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा युनियनका उपमहासचिव अभय कुमार  राई , रवीन्द्र सुवेदीलगायतको उपस्थिति थियो । प्रमुख अतिथि लिम्बू, महासचिव पौडेल, उपमहासचिव राई र सुवेदीलगायतले सम्मानित पत्रकार तथा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सम्मान गरेका थिए ।

View : 28

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved