तरुणको रक्तदान
नेपाल तरुण दल विराटनगर महानगर समितिको आयोजनामा शनिबार विराटनगरको हिमालय रोडमा आयोजित बृहत रक्तदान कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। बढ्दो रगत अभावका बेला छोटो समयमै तय गरिएको उक्त कार्यक्रमबाट ७८ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।
कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा (सञ्जय) र विराटनगर महानगर अध्यक्ष सन्तोष न्यौपाने विशिष्ट अतिथि थिए। कार्यक्रमको संयोजन रिकेश श्रेष्ठ (कालु) ले गरेका थिए भने सह–संयोजकमा आवाज पौडेल रहेका थिए।
कार्यक्रममा बोल्दै नेता अर्यालले युवाहरुको सक्रियता आशालाग्दो भएको बताउँदै यस्ता सामाजिक अभियानले समाजमा सकारात्मक सन्देश दिनेको उल्लेख गरे। "युवाहरुको जोश र योगदान प्रशंसनीय छ," उनले भने, "यस्ता कार्यक्रमले तरुण दलको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रस्ट पारेको छ।"
विराटनगर महानगर–५ का वडा अध्यक्ष समेत रहेका नेपाल तरुण दल महानगर अध्यक्ष सन्तोष न्यौपानेले अधिवेशनपूर्वको यो कार्यक्रम ऐतिहासिक बनेको बताए। “महानगरको नेतृत्व अब्बल बन्ने विश्वास लिएको छु,” उनले भने।
संयोजक रिकेश श्रेष्ठले अग्रज नेताहरुको मार्गदर्शन र साथीहरुको एकताले कार्यक्रम सफल बनेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।
रक्तदान कार्यक्रममा विराटनगर क्षेत्रका युवाहरुको उल्लेख्य सहभागिता देखिएको थियो।
View : 112
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved