Biratnagar, Morang, Nepal
गरिखानेका कथा

फोहोरसँग जुध्ने मान्छेहरू : देवचन्द्र घिमिरे र सप्तकोशी टोलको सामूहिक कथा

२२ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर। आइतबार बिहानको घाम अझै टोलका गल्लीभित्र राम्ररी पस्न पाएको थिएन। तर सप्तकोशी टोलमा मानिसको चहलपहल सुरु भइसकेको थियो। हातमा कागज, सूची र फोहोर संकलन कार्ड बोकेर घर-घर पुगिरहेका एक व्यक्ति देखिन्थे। उनी थिए देवचन्द्र घिमिरे।


कसैलाई फोहोर संकलन कार्ड बुझाउँदै, कसैलाई फोहोर छुट्याउने तरिका सम्झाउँदै घिमिरे आफ्नो नियमित दैनिकीमै थिए। तर त्यो आइतबार सामान्य दिन थिएन। सोही दिनदेखि सप्तकोशी टोललाई औपचारिक रूपमा फोहोरमुक्त टोल घोषणा गरिँदै थियो।सरकारी निर्णयबाट होइन, स्थानीय नागरिकहरूको स्वतःस्फूर्त सामूहिक पहलबाट।


शुभ यात्रा नेपाल मोरङका केन्द्रीय सदस्य तथा मोरङ संयोजक घिमिरेका लागि सरसफाइ कुनै औपचारिक अभियान होइन, जीवनशैली हो। विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा गो ग्रीन विराटनगरका सचिवसमेत रहेका उनी विगत तीन वर्षदेखि विराटनगरका विभिन्न टोल, सडक र सार्वजनिक स्थलमा निरन्तर सक्रिय छन्। कहिले झाडु बोकेर, कहिले माइक बिना नै नागरिकलाई सचेत गराउँदै, त कहिले हरियाली बढाउन वृक्षारोपण गर्दै।


तर यो कथा केवल एउटै व्यक्तिको होइन। सप्तकोशी टोलका स्थानीय युवा, स्वयंसेवक र वातावरणप्रति सचेत नागरिकहरू यस अभियानका सहयात्री हुन्। फोहोर संकलन कार्ड नहुने घरधुरीलाई कार्ड उपलब्ध गराउनेदेखि फोहोर व्यवस्थापनका नियम पालना गराउनसम्म काम बाँडिएको छ, जिम्मेवारी तोकिएको छ।


घिमिरे भन्छन्,“फोहोरमुक्त टोल बनाउन सरकारको मुख ताक्नै पर्दैन। बानी बदल्यौँ, फोहोरलाई व्यवस्थित गर्यौँ भने हाम्रो समाज आफैँ सफा बन्छ।”


यही सोचका साथ उनी व्यक्ति केन्द्रित प्रशंसाभन्दा सामूहिक प्रयासलाई अघि सार्छन्। नेतृत्व गर्छन्, तर ‘सबै मैले नै गरेँ’ भन्ने दाबी गर्दैनन्।


स्थानीयवासीका अनुसार देवचन्द्रजस्तै सोच बोकेका अन्य अभियन्ताहरूको निरन्तर साथले अभियान थाकेको छैन। कहिले यो अभियान उत्सवजस्तो देखिन्छ, कहिले अनुशासनजस्तो, तर लक्ष्य एउटै छ: सफा टोल, जिम्मेवार नागरिक।


सप्तकोशी टोलसँगै सप्तकोशी शाखा नहर क्षेत्रलाई पनि फोहोरमुक्त बनाउने अभियानमा घिमिरे र उनको टोली निरन्तर सक्रिय छन्। यसका साथै वरपरका टोल समितिहरूलाई पनि फोहोरमुक्त बनाउने उद्देश्यका साथ उनीहरू निरन्तर सहकार्य गरिरहेका छन्।


यस अभियानअन्तर्गत श्री गणेश टोल विकास संस्था, अच्युत मिल टोल विकास संस्था, रामजानकी टोल विकास संस्था, मनकामना टोल विकास संस्था, चेतनशील टोल विकास संस्था, सखुवारे टोल विकास संस्था, क, ख, ग टोल विकास संस्था, आदर्श टोल विकास संस्था तथा जामुनेश्वर टोल विकास संस्था सहभागी छन्। यी टोल विकास संस्थाहरूमा पनि चाँडै नै फोहोरमुक्त अभियान सञ्चालन गरिने तयारी भइरहेको घिमिरेले बताए।


सप्तकोशी टोलको फोहोरमुक्त घोषणाले विराटनगरका अन्य टोलहरूलाई पनि प्रश्न गर्छ। के हामी तयार छौँ आफ्नै टोलबाट सुरु गर्न?
यहाँ परिवर्तन भाषणबाट होइन, देवचन्द्रजस्ता मानिस र उनीसँगै हिँड्ने धेरै हातहरूको निरन्तर प्रयासबाट सुरु भएको छ। देवचन्द्र घिमिरे र उनका सहयात्रीहरूको यो कथा वास्तवमा एउटै व्यक्तिको होइन, सामूहिक जिम्मेवारी र साझा संकल्पको कथा हो। जसले विराटनगरका सबै वडाका नागरिकलाई आफ्नै टोल सफा राख्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

View : 377

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved