Biratnagar, Morang, Nepal
स्वास्थ

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा. शेखर कोइराला

-
अखवारका कुरा
२१ चैत २०८२, शनिवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेता कोइरालाले १८ वर्षको अवधिमा संस्थाले सोचेजति प्रगति गर्न नसकेको स्वीकार गरे । उनले भने,‘संस्थाले १८ वर्षमा जति सोचेको थियो, त्यति काम गर्न सकेको छैन । अब एक–अर्कालाई दोष लगाएर बस्ने समय होइन, कसैलाई आरोप नलगाई संस्थालाई अगाडि बढाउनु पर्छ ।’
डा. कोइरालाले संस्था चल्दैन भन्नुभन्दा पनि यसलाई कसरी राम्रो बनाउने भन्नेतर्फ ध्यान दिन कार्यदललाई आग्रह गरे । ‘कसले के गर्यो वा गरेन भनेर अल्झिनु हुँदैन । अबको बाटो कसरी राम्रो बनाउने भन्ने नै हो,’ उनले थपे ।
यस्तै, अस्पतालका पूर्व अध्यक्ष डा. केदार नर्सिङ केसीले संस्थालाई विचार र राजनीतिको चश्माबाट मात्र नहेरी सामाजिक उत्तरदायित्व र मनोबलका साथ अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘यो राजनीतिक गर्ने ठाउँ होइन, सामाजिक काम गर्ने संस्था हो । सामाजिक मनोबलका साथ काम गर्ने हो भने संस्थालाई अगाडि बढाउन सकिन्छ, आत्तिनुपर्ने अवस्था छैन ।’
डा. केसीले संस्थाका सबै सदस्यहरूलाई विगतका तिता–मिठा अनुभव बिर्सिएर संगठित हुन आग्रह गरे । संस्था सुधार्न छानबिन समितिभन्दा पनि सफा नियत आवश्यक रहेको उल्लेख गर्दै उनले तीन जना मात्रै पनि एकै ठाउँमा उभिए संस्था राम्रो हुने विश्वास व्यक्त गरे । आफू अन्य संस्थामा रहे पनि वा छाडे पनि यस अस्पतालमा सधैँ आबद्ध भइरहने प्रतिबद्धता समेत उनले जनाए ।

View : 18

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved